कुल र सरस्वती उत्कृष्ट खेलाडी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल एपीएफ क्लब महिलातर्फ र नेपाल पुलिस क्लब पुरुषतर्फ २०७५ वर्षको उत्कृष्ट भलिबल टिम घोषित भएका छन्। शनिबार तेस्रो एनभीए अवार्ड कार्यक्रमको आयोजना गर्दै नेपाल भलिबल संघले उत्कृष्ट टिमलाई नगद १ लाखसहित सम्मान गरेको हो।

नेपाल भलिबल संघद्वारा सम्बन्धन प्राप्त प्रतियोगितामा एपीएफले महिलातर्फ १० मा ९ तथा पुलिसले पुरुषतर्फ ९ मध्ये ६ उपाधि जितेका थिए। यस्तै महिलामा एपीएफकी सरस्वती चौधरी र पुरुषमा पुलिसका कुलबहादुर थापा वर्षका उत्कृष्ट खेलाडी घोषित भए।

यसै गरी प्रशिक्षकमा महिलातर्फ एपीएफका ज्ञानेन्द्र विष्ट र पुरुषतर्फ पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट घोषित भए। उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरूले नगद २५ हजारसहित सम्मानपत्र प्राप्त गरे।

यसै गरी भलिबल खेलमा लामो समयसम्म आबद्ध रही भलिबल खेलाडी जीवनबाट संन्यास लिएकी कोपिला उप्रेतीलाई संघले सम्मान स्वरूप नगद ५० हजारसहित सम्मानपत्रले सम्मान गर्यो। उप्रेतीले ६१ सालदेखि अनवरतरूपमा भलिबल खेलको खेलाडीका रूपमा आफूलाई उभ्याएकी थिइन्।

सम्मान गर्ने क्रममा नेपालमा भलिबल खेलको विकास र विस्तारमा अनवरत लागि पर्ने न्यु डायमन्ड एकेडेमीका संस्थापक एवं प्रशिक्षक तथा नेपाल भलिबल संघ विद्यालय कमिसनका उपाध्यक्ष कुमार राईलाई पनि रहेका छन्। राईलाई नगद २५ हजारसहित अभिनन्दन पत्रले सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा नेपालमा भलिबल खेलको विकासमा सहयोग पुर्याउनुहुने नेदरल्यान्ड भलिबल संघका विकास निर्देशक मि. पिटर भान तरेललाई पनि सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।