पशुलाई रोग लाग्न नदिने ‘दूधकुण्ड’


चिरञ्जीवी मास्के, दोलखा।

दोलखाको रोल्वालिङ पदमार्गमा पर्ने दुधकुण्ड प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक महत्त्वको पर्यटकीय गन्तव्य हो। जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने दुधकुण्डमा पूजा गर्दा पशुलाई नोक्सानी नहुने स्थानीयको जनविश्वास छ।
प्रसिद्ध च्छो रोल्पा हिमतालभन्दा दुई घण्टा उकालो गएपछि दुधकुण्ड पुग्न सकिन्छ। चार हजार पाँच सय मिटरको उचाइमा रहेको दुधकुण्ड विभिन्न हिमशृंखलाले घेरिएको निकै आकर्षक पर्यटकीय गन्तव्य रहेको स्थानीय फुर्वाठिले शेर्पा बताउनुहुन्छ।

रोल्वालिङ पदमार्गमा पर्ने बेदिङ, ना, ठाङ्दिङमा लगायतका शेर्पा समुदायका मानिसले चौंरीगोठ विभिन्न स्थानमा सार्ने बेलामा दुधकुण्डमा पूजा गर्ने र यसरी पूजा गर्दा पशुलाई कुनै रोग नलाग्ने, जङ्गली जनावरले समेत नोक्सान नगर्ने र गाउँलेलाई कुनै समस्या नहुने जनविश्वास रहेको ठाङ्दिङकी स्थानीय रिकु शेर्पा बताउनुहुन्छ।

विगतमा रोल्वालिङ पदमार्गमा आउने पर्यटकहरूको अन्तिम गन्तव्य च्छो रोल्पा हिमताल हुने गरेकोमा अहिले दुईघण्टामाथि रहेको दुधकुण्ड र त्योभन्दा एक घण्टामाथि रहेको हलेसी गुफासम्म पनि पुग्ने गरेको रिकु शेर्पा बताउनुहुन्छ।

पाँच हजार मिटरको उचाइमा रहेको हलेसी गुफामा गुरु रेम्पोचे ज्ञान प्राप्तिका लागि बसेको विश्वास रोल्वालिङ क्षेत्रका स्थानीयको बुझाइ छ।गौरीशङ्कर, यलुङ्री, रम्दुङ र फर्छेमुलगायतका हिमशृङ्खलाले घेरिएको च्छो रोल्पा, दुधकुण्ड र हलेसी गुफा चैत्र वैशाखदेखि साउन र भदौसम्म दुई सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेको स्थानीय फुर्वाठिले शेर्पाले बताउनुभयो।

दुधकुण्ड पुग्न सदरमुकाम चरिकोटबाट दुई घण्टाको बस यात्रामा सिमिगाउँ पुगिने र त्यहाँबाट तीन दिनको पैदल यात्रा गर्नुपर्ने स्थानीय रिकु शेर्पाले बताउनुभयो। रोल्वालिङ पदमार्गमा अहिले पर्याप्त संख्यामा होम स्टे र केही सुविधा सम्पन्न होटलहरूसमेत रहेकोले च्छो रोल्पा, दुधकुण्ड, हलेसी गुफालगायतका पर्यटकीय गन्तव्य पुग्न समस्या नहुने स्थानीय फुर्वाठिले बताउनुहुन्छ।