शिवरात्रिमा पासको व्यवस्था हटाइने

0
Shares

काठमाडौं, (नेस)। 

महाशिवरात्रि मूल समारोह समितिको पहिलो बैठकले यस वर्ष पासबाट दर्शन गर्ने व्यवस्था हटाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा १ सय ११ सदस्यीय मूल समारोह समिति र विभिन्न ७ उपसमिति गठन गरेको छ।

बैठकमा बोल्दै मन्त्री भट्टराईले शिवरात्रिसम्ममा पशुपतिक्षेत्र आसपासमा रहेको फोहोरमैला व्यवस्थापन गरिसक्ने बताउनुभएको छ। पशुपतिनाथको महिमा र गरिमालाई उच्च राख्दै पासको व्यवस्था हटाएर दर्शनार्थीलाई सहज वातावरण बनाइदिएको उहाँले बताउनुभयो। पशुपतिनाथको महिमा र गरिमालाई विश्वभर पहिचान दिन महाशिवरात्रिलाई भव्य रूपमा बनाउन लागिएको जानकारी दिनुभयो।

मापदण्डअनुसार माघ मसान्तभित्र सबै काम पूरा हुनुपर्ने भट्टराईले बताउनुभयो। उहाँले भ्रमण वर्षमा विदेशी पाहुनालाई पशुपतिनाथको दर्शन गराउन अपील गर्नसमेत आग्रह गर्नुभयो। कोषका सदस्य सचिव डा. प्रदीप ढकालले यस वर्षको शिवरात्रिमा पासको व्यवस्था नभएको जानकारी गराउँदै कडा सुरक्षा व्यवस्था गरिएको बताउनुभयो।

सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मा दिइएको उहाँले बताउनुभयो। भित्री सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। मन्दिर दर्शनका लागि जुन ढोकाबाट प्रवेश गरिनेछ, त्यही ढोकाबाट फर्किने व्यवस्था रहेको ढकालले बताउनुभयो।

उहाले महाशिवरात्रिमा लाखौं हिन्दूधर्मावलम्बीलाई सहज रूपमा दर्शन गराइने जानकारी दिंदै भन्नुभयो– ‘सोर्सफोर्सको भरमा दर्शन गर्ने परम्पराको अन्त्य गरेका छौं, सबैलाई सहज र सरल रूपमा दर्जन गर्ने प्रबन्ध मिलाएका छौं। अनुगमन समितिका संयोजकसमेत रहनुभएका ढकालले यो वर्ष साधुलाई कुनै समस्या हुन नदिने स्पष्ट पार्नुभयो।

शिवरात्रिका दिन मन्दिर परिसर वरिपरि मासु, मदिरा तथा धूमपान पूर्ण रूपमा निषेधित गरिएको ढकालले जनाउनुभयो। मन्दिर परिसरभित्र रहेका सम्पूर्ण शिवलिङ्गहरूमा फूल तथा प्रसाद चढाइने जानकारी दिनुभयो।

महानगरीय प्रहरी आयुक्त डीआईजी विश्वराज पोख्रेलले सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै ५ हजार प्रहरी परिचालन गरिने बताउनुभयो। प्रहरी परिचालनसँगै दर्शन गर्ने व्यवस्थामा सुधार गरिने उहाँले जनाउनुभयो। उहाँले विगतमा भएको सुरक्षा कमजोरीलाई सुधार गर्दै लैजाने बताउनुभयो।