विवेकशीलले गर्यो पारदर्शिता प्रतिवेदन सार्वजनिक

14
Shares

नेपाल समाचारपत्र, काठमाडौं

विवेकशील नेपाली दलका बागमती प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले प्रदेश सभामा आफ्ना गतिविधि समेटिएको पारदर्र्शिता प्रतिवेदन सार्वजनिक गर्नुभएको छ। ताहाचलस्थित आफ्नै पहलमा निर्मित स्वस्थ नागरिक पार्कमा एक कार्यक्रम गर्दै श्रेष्ठले २८ पृष्ठ लामो कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको हो।

प्रतिवेदनमा प्रदेशसभामा सम्पन्न गरेका गतिविधि र सचिवालयमार्फत समुदायमा गरेका कामहरू समेटिएको वार्षिक प्रतिवेदन स्थानीय पाँच अगुवाले सार्वजनिक गरेका हुन्। विवेकशीलका अर्का सांसद रमेश पौड्यालले यसअघि नै आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेका छन्।

‘जनप्रतिनिधिहरू मतदाता र नागरिकप्रति जवाफदेही हुनुपर्छ र प्रणालीगत रूपमै पारदर्शिताको अभ्यास गर्नुपर्छ भनेर उहाँहरूले उदाहरणीय सुरुवात गर्नुभएको छ।’ प्रतिवेदन सार्वजनिक गर्दै स्थानीय अगुवा एवं विवेकशील नेपाली दलका नेता पुरुषोत्तम ढुंगेलले भन्नुभयो।

कार्यक्रममा विवेकशीलका नेताहरू, समाजिक अगुवाहरू विकासभक्त श्रेष्ठ, दुर्गा शाही, राज्यलक्ष्मी श्रेष्ठ, युवा अगुवा पवनसिद्धि मानन्धरलगायत करिब एक सय ५० स्थानीयहरूको उपस्थिति थियो।

‘हामी सानो दलको रूपमा सदनमा छौं। हाम्रो अनुभव थोरै छ। तर नागरिकहरूले दिएको ठूलो विश्वास र ऊर्जाले हामी सुसंस्कृत राजनीति र पारदर्शी प्रणाली स्थापनार्थ प्रयासरत छौं।’ कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले भन्नुभयो।

सदनमा प्रतिपक्षी भूमिकासँगै समुदायमा नागरिकहरूसँगै समाजिक नेतृत्वमा आफू सक्रिय रहने सांसद श्रेष्ठको वाचा छ। कार्यक्रममा बोल्ने वक्ताहरूले जनप्रतिनिधिहरू ठेक्कापट्टा, घोटाला र डोजर व्यापारमा लागिरहेका बेला यसरी पारदर्शिता प्रतिवेदन सार्वजनिक गर्नु उदाहरणीय संस्कार भएको बताउनुभएको थियो।