हात मिलाए रोग, नमस्कार गरे मनको योग

पशुपतिनाथबाट ‘नमस्कार’ अभियान

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

पशुपति क्षेत्र विकास कोषले आजबाट पशुपति परिसरमा ‘नमस्कार गरौं’ अभियान शुरू गरेको छ। अभिवादनको नेपाली पद्धति नमस्कार वैज्ञानिक र मानवहितकारी रहेको जनाउँदै ‘हात मिलाए लाग्नसक्छ रोग, नमस्कार गरे हुन्छ मनको योग’ भनेको छ।

कोषका पदाधिकारी, कर्मचारी र दर्शनार्थीबाट नमस्कार संस्कृतिको शुरुआत गर्न लागिएको कोषका सदस्य–सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो। हात मिलाउने, अंकमाल गर्नेजस्ता कार्यकै कारण विश्वमा विभिन्न किसिमका डरलाग्दा सरुवा रोग लाग्न सक्ने समस्या देखिएपछि कोषले आफैबाट नमस्कार संस्कार शुरू गर्न लागेको हो।

विशेष गरी नेपालमा कोरोना भाइसरको संक्रमण बढ्सक्ने सम्भावना भएपछि सबै नेपालीलाई जागरुक गर्न अभियान थालनी गरिएको उहाँले जानकारी गराउनुभयो।

‘रोग सर्ने समस्या त छँदै छ, त्योभन्दा पनि अभिभादव वा नमस्कारले श्रद्धा एक–अर्काबीच संस्कार देखिने भएकाले नमस्कार संस्कार शुरू गर्न लागेको हो।’ –सदस्य–सचिव डा. ढकालले भन्नुभयो। यसअघि चिकित्सकले विभिन्न खतरनाक रोगबाट बच्न अंकमाल नगर्न र हात नमिलाउन आग्रह गर्दै आएका छन्।

विश्वभरका हिन्दूधर्मको आस्थाको धरोहर भगवान पशुपतिनाथको सामीप्यमार्फत नमस्कार अभियान सञ्चालन गर्न लागेको हो। हाम्रै संस्कार र संस्कृतिको पहिचान दिन नमस्कार अभियान शुरू गर्न लागिएको सदस्य–सचिव डा. ढकालको भनाइ छ।

कोषले पहिलो चरणमा पशुपतिनाथ परिसर, प्रवेश गर्र्ने चारै नाका, विभिन्न मठमन्दिर, श्लेषमान्त वन, कैलाश पर्वत, किरातेश्वर महादेव, गु≈येश्वरीबाट पशुपति आउने बाटोलगायतका क्षेत्रमा सयवटा नमस्कार चिह्न अंकित बोर्ड राख्नेछ।

‘नमस्कार अभिवादनको पवित्र माध्यम र हाम्रो आफ्नै संस्कार हो, एक आपसमा भेट हुँदा नमस्कार गर्ने बानी बसालांै’ अंकित बोर्ड राख्ने भएको हो। पहिलो चरणमा सयवटा बोर्ड राखेपछि त्यसको प्रभावकारिताबारे अनुगमन गरी पुनः दोस्रो चरणमा अन्य क्षेत्रमा विस्तार गर्ने योजना कोषको छ।

सदस्य–सचिव डा. ढकालले भन्नुभयो– ‘आजबाट कोषका कुनै पनि पदाधिकारी र कर्मचारीले कोहीसंँग हात मिलाउँदैनन्, सबैले नमस्कार गरेर स्वागत गर्नेछन्।’ नमस्कार नै नेपालीको संस्कार भएकाले आजैबाट सबैले सधैं नमस्कार गर्ने परम्पराको थालनी गर्न लागेको उहाँको भनाइ छ।