घरेलु ओडीआईमा नेपालको पहिलो जित

0
Shares

फिरोज राजोपाध्याय, काठमाडौं

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा ऐतिहासिक जित हासिल गरेको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको हो।

योसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) अन्तर्गत घरेलु मैदानमा पहिलो जित हात पार्दै इतिहास रच्न पनि सफल भयो। नेपालले १ सय ९१ रनको लक्ष्य दिएकोमा अमेरिका ४४ दशमलव १ ओभरमा १ सय ५५ रनमा अलआउट भएको हो। यो जारी त्रिकोणात्मक शृंखलामा आयोजक नेपालको पहिलो जित पनि हो।

यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो।यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रनको योगफल जोडेको थियो। सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले नेपालको ब्याटिङ थालनी गरेका थिए।

तर सुवास दोस्रो ओभरमै ३ रन जोडेर रस्टी थेरोनको बलमा आउट भए। चोटका कारण टोलीबाट बाहिरिएका शरद् भेषवाकरको स्थानमा आएका उनले अवसरलाई सदुपयोग गर्न सकेनन्। यसपछि पारस र ज्ञानेन्द्रले ४६ रनसम्म पुर्याएपछि नेपालले ३ रनको अन्तरालमा नाटकीय ढंगमा चार विकेट गुमायो। स्टेभेनसनले ज्ञानेन्द्र (२१ रन) र पारस (१९ रन) तथा नेत्रवाल्करले उपकप्तान दीपेन्द्रसिंह ऐरी (०) र आरिफ शेख (२ रन) लाई आउट गरेका थिए।

४९ रनको योगफल हुँदा नेपालले शीर्ष ५ ब्याटसम्यानलाई गुमाइसकेको थियो। यति ठूलो दबाबमा पनि पहिलो पटक ओडीआईमा खेलेका कुशल मल्ल भने मैदानवरिपरि उपस्थित हजारौं दर्शकको मन जित्न सफल भए। कुशलले उत्कृष्ट ब्याटिङ गर्नुका साथै टोलीलाई समेत बलियो स्थितिमा पुर्याएका थिए। साथै उनले ४९ बलमा अर्धशतक बनाएर कान्छो उमेरमा ओडिआइमा अर्धशतक बनाउने विश्व कीर्तिमानी रच्न पनि सफल भए।

उनले करिमा गोरेको बलमा आउट हुन अगाडि ५१ बलमा ५० रन जोडेका थिए। उनको उत्कृष्ट ब्याटिङमा ४ चौका र ३ छक्का पनि सामेल थिए।
यसैगरी कुशलले अनुभवी ब्याटसम्यान विनोद भण्डारीसँग छैटौं विकेटका लागि महत्वपूर्ण ८४ रनको साझेदारीसमेत गरेका थिए

उनी आउट भए पनि विनोदले नेपालको ब्याटिङ राम्ररी सम्हाले। नवौं विकेटको रूपमा आउट भएका विकेटकिपरले ७९ बलमा ६ चौका र एक छक्कासहित ५९ रनको योगदान दिएका थिए।

नेपालको बलिङमा भने निकै उत्कृष्ट प्रदर्शन भएको थियो। करण केसी र सन्दीप लामिछानेले २/२ विकेट लिएर अमेरिकाको ब्याटिङ धरातललाई कमजोर बनाइदिएका थिए। सन्दीपले आरोन जोन्स र मोनान्क टेलरलाई र करणले जेभिएर मार्सल र स्टेभेन टेलरलाई आउट गरेका थिए।

यति बेला अमेरिका ४/१३ को दयनीय स्थितिमा पुगेको थियो। तेस्रो बलरका रुपमा आएका सुसनले २ विकेट हात पार्दै अमेरिकालाई थप झट्का दिएका थिए। त्यसपछि ६५ रनको योगफल हुँदा कुशलले नेपालका लागि सातौं सफलता दिलाए।

यसका साथै उनले ओडीआई करियरमा हट्चीनसनको रूपमा पहिलो विकेट प्राप्त गर्न सफल भएका थिए। ७ विकेट पतन भए पनि अमेरिकाका मध्यक्रमका ब्याट्सम्यान आयन होल्यान्डले नेपाललाई केही दबाबमा राखे।

उनलाई करणले ४१औं ओभरमा आउट गरेपछि मात्रै नेपाली टोलीले राहतको श्वास लिन पाएको थियो। १ सय ११ बलमा ७ चौका प्रहार गरेका होल्यान्डले ७५ रन जोडेका थिए। यो उनको जारी शृंखलामा लगातार दोस्रो अर्धशतक पनि थियो। नेपाली बलरमा करण केसीले लगातार दोस्रोपटक ४ विकेट लिन सफल भए।