पूर्वअधिराजकुमारी प्रेरणा घर छाड्न बाध्य

0
Shares

विकास भट्टराई, काठमाडौं

सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ।

नेपाल ट्रस्टको कार्यालयले यही माघ ३ गते सार्वजनिकरूपमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्णरूपमा खाली गर्न प्रेरणालाई सूचित गरेको थियो। सो मिति सकिन अब १२ दिन मात्र बाँकी छ। सार्वजनिकरूपमा सूचना प्रकाशित गरेपछि प्रेरणाले आफूलाई ट्रस्टको कार्यालयले हटाउन खोजेको उल्लेख गर्दै त्यसविरुद्ध यही माघ १३ गते सर्वोच्चमा निवेदन दिनुभएको थियो।

यसअघि प्रेरणाले नेपाल ट्रस्ट ऐन, २०६४ को केही प्रावधान संविधानसँग बाझिएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। सर्वोच्चको संवैधानिक इजलासले सो रिट निवेदन र निवेदनलाई शुक्रबार संँगै सुनुवाइ गरेको थियो।

प्रेरणाका कानुन व्यवसायीले अबको केही दिनमा नै बसिरहेको घरबाट प्रेरणा उठ्नुपर्ने अवस्था आउने भएका कारण त्यसलाई रोकिदिन इजलाससमक्ष माग गरेका थिए। सो मागलाई इजलासले अस्वीकार गरेपछि अब प्रेरणा हाल बसोबास गरिरहेको घरबाट उठ्नुपर्ने भएको छ।

प्रेरणा हाल काठमाडौं महानगरपालिका वडा नं १३ छाउनी मार्गस्थित कित्ता नम्बर २५ को जग्गा र सोमा बनेको कम्पाउन्डवालसहितको विजया घरमा बसिरहनुभएको छ। सो घर–जग्गा ट्रस्टअन्तर्गतको हो वा प्रेरणालाई उहाँका बाबु पूर्वराजा ज्ञानेन्द्रले दाइजो दिएको हो भनी विवादमा रहेको थियो। सर्वोच्च अदालतको पूर्णइजलासले २०७३ साल पुस २१ गते उक्त जग्गा र घर ट्रस्टअन्तर्गत हो भनी निर्णय गरेको थियो।

सो निर्णयपछि प्रेरणाले नेपाल ट्रस्ट ऐन, २०६४ को केही प्रावधान संविधानसँग बाझिएको भनी रिट निवेदन दायर गर्नुभएको थियो। २०७३ साल पुस २१ गते सर्वोच्चको निर्णय आएपछि ट्रस्टले सो जग्गा र घर खाली गरिदिन प्रेरणालाई पटक–पटक पत्राचार गरेको थियो। सो पत्राचार गरेपछि पनि उहाँले मागबमोजिम नगरेपछि घरजग्गा खाली गरिदिन सार्वजनिकरूपमा सूचना प्रकाशित गरिएको थियो।

सूचनामा भनिएको छ– ‘श्री प्रेरणा राज्य लक्ष्मीदेवी सिंहका नाममा पटक–पटक पत्राचार र सार्वजनिक सूचना जारी गर्दासमेत हालसम्म पनि खाली नगर्नु भएकोले तपाईंं श्री प्रेरणा राज्यलक्ष्मी देवी सिंहको नाउँमा पुनः यो सूचना प्रकाशित गरिएको छ।’ सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्णरूपले खाली गरिदिन र यदि सूचनाबमोजिम नभएमा कानुनबमोजिम हुने भनिएको छ।