काठमाडाैँ ।
वाग्मती प्रदेश सरकारको आयोजनामा आज हेटौँडामा बृहत् दौड प्रतियोगिता ‘हेटौँडा रन’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हेटौँडा रन कार्यक्रम गरिएको हो ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन वर्षलाई सफल बनाउन हेटौँडामा एकैपटक हजारौँ प्रतियोगीलाई दौडाइएको हो । पहिलो ‘हेटौँडा रन’ प्रतियोगितामा पुरुषतर्फको १० किलोमिटर दौडको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिठ्ठी बजाएर उद्घाटन गर्नुभयो भने महिलातर्फको पाँच किलोमिटर दौडको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र तीन किलोमिटर मनोरञ्जनात्मक दौडको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उद्घाटन गर्नुभयो ।
पर्वतीय खेलकूद महासङ्घ नेपाल वाग्मती प्रदेशको संयोजनमा पहिलोपटक हेटौँडामा गरिएको कार्यक्रममा धेरैको उत्साहजनक सहभागिता रहेको महासङ्घका प्रदेश अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो । पुरुषतर्फको १० किलोमिटर दौडमा सशस्त्र प्रहरीका अजितकुमार यादव प्रथम भएर नगद रु ५० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
नेपाली सेनाका टङ्क कार्की द्वितीय भएर नगद रु ३० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यसैगरी सशस्त्र प्रहरीका गणेशसिंह ठकुरी तृतीय हुँदै नगद रु २० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभयो । प्रतियोगितामा शिव रायमाझी चौथो र जीवन लामा पाँचौँ हुनुभयो । उहाँहरुले क्रमशः रु १० हजार र रु पाँच हजार प्राप्त गर्नुभयो ।
महिलातर्फको पाँच किलोमिटर दौडमा सन्तोषी श्रेष्ठले प्रथम हुँदै रु ५० हजार नगदसँगै शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नुभयो । उक्त प्रतियोगितामा नेपाल प्रहरीकी राजपुरा पछाईं द्वितीय, नेपाली सेनाकी सरस्वती भट्टराई तृतीय, नेपाल प्रहरीका विर्सना कुमाल चौथो र जुनेली सुनार पाँचौँ हुनुभयो । उहाँहरुले क्रमशः रु ३० हजार, २० हजार, १० हजार र पाँच हजार पुरस्कार प्राप्त गर्नुभएको पर्वतीय खेलकूद महासङ्घका सचिव सफल अधिकारीले जानकारी दिनुभयो ।
मनोरञ्जनात्मक दौडमा हजारौँको सङ्ख्यामा सहभागिता रहेको उहाँले बताउनुभयो । भ्रमण वर्षलाई स्वागत गर्दै खेलका माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया