कीर्ते मुद्दाको अभियोगमा नापी कार्यालयका पूर्वकर्मचारी पक्राउ


न्युज अफ नेपाल, झापा ।

झापाको दमकस्थित नापी कार्यालयका पूर्वकर्मचारी पक्राउ परेका छन्। दमक–८ स्थित सरकारी स्वामित्वको ऐलानी जग्गा रेवतरजा पुरी गगन र उनको परिवारका नाममा कायम गराउन सहयोग गरेको अभियोगमा दमकस्थित नापी कार्यालयका पूर्वकर्मचारी डिल्ली सुब्बा पक्राउ परेका हुन्।

बिहीबार नियन्त्रणमा लिइएका सुब्बालाई इलाका प्रहरी कार्यालय दमकले शुक्रबार अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थपको आदेश लिएको थियो। त्यहाँमध्ये ११ बिगाहा जग्गा पथरीका ओमप्रकाश पौडेलको नाममा दर्ता गराएका पुरी भने फरार छन्।

सुब्बामाथि सरकारी जग्गा पुरीकै नाममा दर्ता गराउन सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अभियोग लागेको छ। यसअघि पौडेलका नाममा जग्गा दर्ता गराउन भूमिका खेलेको आरोपमा मालपोत, नापी र दमक नगरपालिकाका कर्मचारीसहित पथरीका पौडेल अदालतले तोकेको धरौटी वापतको रकम बुझाएर रिहा भइसकेका छन्।

प्रहरीले त्यहाँको सरकारी जग्गा घोटाला अनुसन्धानकै क्रममा सुब्बासहित थप ११ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ।