दिल्ली विधान सभाको निर्वाचन सम्पन्न


काठमाडाैँ ।

भारतको राजधानी नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा साँझपाँच बजेसम्म ४४.५२ प्रतिशत मत खसेको छ । दिउँसो तीन बजेसम्म करिब ३० प्रतिशत मतदान भएकोमा दिन सकिँदै जाँदा मतदानका लागि मतदान केन्द्रमा पुग्नेको भीड बढेको अधिकारीहरूले जनाएका छन् ।

निर्वाचन आयोगको एपले गरेको मतदाता सहभागीहरूको सर्वेक्षण नतिजामा अनुसार साँझ पाँच बजे सम्म ४४.५२ प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।

दिल्लीबाट राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति हामिद अन्सारी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, दिल्ली उपराज्यपाल अनिल बैजल, मुख्यमन्त्री अरविन्द केजरीवाल, काङ्ग्रेस अध्यक्ष सोनिया गान्धी, भाजपा नेता लालकृष्ण आडवाणी र केन्द्रीय मन्त्री हर्षवर्धन र एस जयशंकरले शनिबार मतदानमा सहभागिता जनाउनुभएको छ ।

कांग्रेस नेता राहुल गान्धी र प्रियङ्का गान्धी वाड्राले पनि दिल्लीबाट मतदान गर्नुभएको छ ।

दिल्ली विधान सभाका लागि हुने शनिबारको मतदानका लागि एक करोड ४० लाख मतदाता रहेका छन् । जसमध्ये ८१ लाख पाँच हजार २३६ पुरूष र ६६ लाख ८० हजार २७७ महिला मतदाता रहेका छन् । दिल्लीमा ८६९ तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

मतदानका लागि १३ हजार ५७१ मतदान केन्द्र रहेको दिल्लीमा करिब तीन हजार मतदानका हिसाबले संवेदनशिल र १४४ अति संवेदनशिल केन्द्रहरू रहेका भन्दै ती स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

यस प्रतिस्पर्धा सत्ताधारी आम आदमी पार्टी, भाजपा र कांग्रेसबीच धेरै हदसम्म त्रिकोणात्मक प्रतिस्पर्धा रहने बताइएको छ । भाजपा र कांग्रेस दुवैले आफ्ना सहयोगीहरूलाई केही सिट दिएका छन् । सन् २०१५ मा सम्पन्न निर्वाचनमा मुख्यमन्त्री केजरीवालको दलले ६७ सीटमा विजय प्राप्त गरेको थियो । निर्वाचन परिणाम आगामी मङ्गलबारसम्म घोषणा गरिने बताइएको छ ।

कुल ७० सदस्यको दिल्ली विधानसभाका लागि मतदान भएकाे निर्वाचन आयोगले बताएको छ ।

रासस/एएनआई