मुलुकको सम्बृद्धिका लागि व्यवसायिक शिक्षा आवश्यकः अध्यक्ष तिमिल्सिना


न्युज अफ नेपाल, पर्वत ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकले आर्थिक सम्बृद्धि हासिल गर्नका लागि स्वरोजगार बनाउने व्यवसायिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ।

पर्वतको कुस्मबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सव तथा २६ औँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले युवालाई स्वरोेजगार बनाउन सक्ने व्यवसायिक शिक्षाबाट मात्रै मुलुकले सम्बृद्धि हासिल गर्न सक्ने बताउनुभएको हो ।

उहाँले स्नातक र स्नातकोत्तर पढेपनि रोजगारी पाउन नसकेर बिदेशमा भाडाँ माझ्न जानुपर्ने बाध्यताको अन्त्य गर्नु अहिलेको आवश्यकता भएको बतउनुभयो । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो– ‘अहिले बर्षेनी लाखौ युवाहरु उच्च शिक्षा हासिल गरेर श्रमबजारमा प्रबेश गरेपनि रोजगारी पाउन सकिरहेका छैनन, युवाहरुलाई स्वदेशमै रोजगार बनाउन सक्ने व्यवसायिक शिक्षा दिने शैक्षिक संस्थाहरुको खाँचो मुलुकका लागि छ ।’

तीन दशक अघिसम्म पढेलेखेका युवाहरुले रोजगारी पाउन कठिन नभएपनि अहिले शिक्षक र कर्मचारी मात्रै बन्न खोजेर सबै रोजगार बन्न नसकिने धारणा अध्यक्ष तिमिल्सिनाले राख्नुभयो । आफैले उद्दम गरेर अरु धेरैलाई रोजगार बनाउनका लागि पनि व्यवसायिक शिक्षाको आवश्यकता रहेको कुरामा उहाँले जोड दिनुभयो ।

अहिले मुलुकका धेरै सामुदायिक क्याम्पसहरु न्युन बिद्यार्थी संख्या र आर्थिक अभावमा गुज्रदै गएको चर्चा गर्दै समय अनुकुलको शिक्षा दिने र शिक्षकहरु खुल्ला प्रतिष्पर्धाबाट छान्ने हो भने पनि धेरै समस्या समाधान हुने उहाँको भनाई छ । क्याम्पसहरुमा बिद्यार्थी संगठनहरुका बिचमा मित्रबत प्रतिष्पर्धा हुनु जायज भएपनि क्याम्पस सञ्चालकहरुले राजनिती गर्दा यस्ता संस्थाहरु धारसायी बन्दै गएकोमा उहाँले चिन्ता ब्यक्त गर्नुभयो । ‘क्याम्पस सञ्चालकहरुले शिक्षक छनौट देखि सबै कुरामा राजनैतिक आँखाले हेर्न थालेपछि यस्ता संस्थाहरु धारसायी बनेर जान्छन’ उहाँले भन्नुभयो ‘स्वच्छ र दिगो शैक्षिक वातावरणका लागि शिक्षकको छनौट पनि खुल्ला प्रतिष्पर्धाबाट हुन जरुरी छ’ ।

उहाँले फरक प्रसंगमा बोल्दै आफ्नो कार्यकाल भित्र पर्वतका ७ वटै पालिकाका ६२ वटै वडासम्म पुग्ने सडकलाई पक्की गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । कुस्माबजारलाई ज्ञादी संग जोड्न झाप्रेबजर र बलेवा संग जोड्न कल्लेरीमा मोटरेबल पुल बन्न लागेको जानकारी दिँदै सडकको सहज पहुँच भएपछि कुस्मा बजारलाई शैक्षिक हबको रुपमा बिकास गर्न पनि सहयोग पुग्छ भन्नुभयो ।

संबिधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले पनि शैक्षिक संस्था राजनितीबाट मुक्त हुनुपर्ने कुरामा जोड दिनुभयो । ‘शैक्षिक संस्थामा बसेर राजनिती गर्ने र शैक्षिक संस्थालाई पुर्वाग्रह राखेर हेर्ने दुबै अतिबादी हुन ’ उहाँले भन्नुभयो ‘राजनिती भन्दा माथि राखे मात्रै शैक्षिक संस्थाको बिकास र उन्नती संभव छ ।