नेपालद्वारा अमेरिका ३५ रनले पराजित


न्युज अफ नेपाल, काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकालाई जितका लागि दिएको १९१ रनको लक्ष्य अमेरिकाले ४४ ओभर १ बलमा अल आउट हुँदै १५५ रन बनायो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले डेब्यू खेलमा नै विश्व र्कीतिमान बनाए । उनले नेपालकै खेलाडी रोहित कुमार पौडेलले बनाएको एकदिवसीय क्रिकेटमा सबै भन्दा सानो उमेरमा अर्धशतक बनाउने रेकर्ड तोडेका छन् ।

उनले अमेरिकाविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबै भन्दा सानो उमेरको खेलमाडीको रेकर्ड बनाएका छन् । १५ वर्षका कुशलले आफ्नो नाममा यो रेकर्ड कायम गरेका हुन् । यसअघि नेपालका रोहित कुमार पौडेलले यूएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै रेकर्ड बनाएका थिए । ४९ बल खेलेका उनले ४ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाए ।

नेपालका लागि विनोद भण्डारीले पनि अर्धशतकीय पारी खेले । ७९ बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ५९ रन बनाएका हुन् । नेपालले पहिलो विकेटको रुसुवास खकुरेल ३ रनमा गुमाएको थियो । उनलाई रुष्टि थेरोनले क्याच आउट गराएका हुन् । नेपालका ओपनरमा आएका कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । उनलाई क्यामरोन स्टिभसनले क्याच आउट गराएका थिए ।

नेपालका लागि पारस खड्का १९ रन बनाएर आउट भए । उनलाई क्यामरोन स्टिभसनले क्याच आउट गराएका थिए । नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरी रन नबनाएरै आउट भए । नेपालका आरिफ शेख पनि रन नबनाएरै आउट भए । आरिफलाई अमेरिकाका कप्तान सौरव नेत्रभालकरले क्याच आउट गराएका थिए ।

नेपालका लागि सुशन भारीले ९ र अविनास बोहोराले ५ रन बनाए ।

करण केसी म्यान अफ दी म्याच बनेका छन् ।

जीत हात पारेको नेपाल २ अंकसहित अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । अब आइतबार नेपालले ओमानसँग शृङ्खलाको तेस्रो खेल खेल्दैछ ।