बालकृष्ण समको घरलाई सङ्ग्रहालय बनाउने विषयको उठान

0
Shares

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने कार्यको शुरुआत भएसँगै कवि तथा नाट्य सम्राट बालकृष्ण समको घरलाई पनि सङ्ग्रहालय बनाउने विषयको उठान हुन थालेको छ ।

समको ११८औँ जन्मजयन्तीको सन्दर्भमा आयोजित ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयक प्रवचन कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले प्रतिष्ठानले समको काठमाडौँको ज्ञानेश्रमा रहेको घरलाई सङ्ग्रहालय बनाउन चाहेको बताउनुभयो ।

“सरकार र परिवारले स्वीकृति तथा अनुमति दिएमा प्रतिष्ठान समको घरलाई सङ्ग्रहालय बनाउन तयार छ”, उहाँले भन्नुभयो, “यस विषयमा तत्कालै हामी परिवारसँग छलफल चलाउँछौँ ।” उहाँले नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका श्रष्टाहरुको प्रतिष्ठानमा सामूहिक सङ्ग्रहालय बनाउने पक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

नेपाली शिक्षा परिषद्का सदस्य सचिव रमा शर्माले समको घरलाई सङ्ग्रहालय बनाउने विषयमा आवश्यक सहयोग गर्न परिषद् तयार रहेको बताउनुभयो । “समसँग मैले स्नातकोत्तर तहको अध्ययनसँगै गर्ने अवसर पाएकी थिएँ”, उहाँले भन्नुभयो, “बहुप्रतिभाले युक्त समको सम्मानका लागि हामी आवश्यक योगदान दिन पछि हट्नुहुँदैन ।”

प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले समले राणा कुलमा जन्मिएर पनि सहित्य सिर्जनामार्फत समानता र न्यायको पक्षमा सशक्त आवाज वुलन्द गरेको बताउनुभयो । “नाटक र छन्द कवितामार्फत नेपाली भाषा तथा वाङ्मयको श्रीवृद्धिमा समले विशिष्ट योगदान पु¥याउनु भएको छ” उहाँले भन्नुभयो ।

प्रतिष्ठानका काव्य विभाग प्रमुख डा हेमनाथ पौडेलले सम नाट्य र कविता विधामा मात्र नभएर निबन्धमा पनि उत्तिकै अब्बल रहेको बताउनुभयो । उहाँले सम समन्वयवादी चिन्तक, दार्शनिक एवं वैचारिक श्रष्टा भएको उल्लेख गर्नुभयो । प्राध्यापक डा देवीप्रसाद सुवेदीले समलाई नाट्य सम्राट भनिएपनि उहाँको मुख्य विधा कविता नै भएको बताउनुभयो । “समले जीवनको अन्तिम घडीसम्म पनि कविता लेखनलाई निरन्तरता दिनुभएको थियो” उहाँले भन्नुभयो, “उहाँ मुल रुपमा कवि व्यक्तित्व नै हो ।”