एमसिसी कार्यदलद्वारा अध्ययन र विश्लेषण शुरु

0
Shares

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सुझाव दिन गठित कार्यदलले आवश्यक सामग्री जुटाएर प्राप्त कार्यादेशका आधारमा अध्ययन कार्य अघि बढाएको छ ।

सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा आज साँझ बसेको कार्यदल बैठकले दिएको कार्यादेशका आधारमा अध्ययन गर्ने, सामग्री जुटाउने र विश्लेषणको प्रक्रिया थालनी गरेको बैठकपछि कार्यदलका संयोजक एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीहरु कुनै आवेग वा आक्रोश, सेन्टिमेन्ट आदिका आधारमा अघि बढ्दैनाँै, हामी तथ्यका आधारमा सत्य पत्ता लगाउने प्रक्रियामार्फत अघि बढ्छौँ ।

कार्यदेशअनुसार १० दिनभित्र सक्ने अपेक्षा रहेको बताउँदै संयोजक खनालले त्यो समयसीमाभित्र सकिएन भने पार्टीसँग कुरा गर्छौं भन्नुभयो । एमसिसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकका लागि रु ५६ अर्ब सहयोग उपलब्ध गराउनेछ । पाँच वर्षको अवधिमा रकम खर्च गर्नुपर्ने एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्नेछ ।

नेकपाको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले एमसिसी सम्झौताका सम्बन्धमा विभिन्न कोणबाट उठेका प्रश्न र एमसिसीलाई कसरी राष्ट्रहित अनुकूल बनाउने भन्ने सन्दर्भमा अध्ययन गरी सुझाव पेश गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हुनुहुन्छ । उक्त कार्यदलको पहिलो बैठक यही माघ २० गते बसको थियो ।