लायन्स क्लब अन्तर्राष्ट्रिय कोषद्वारा नवनिर्मित विद्यालय भवन हस्तान्तरण

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लबको आर्थिक सहयोगमा नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय कोषद्वारा म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीस्थित गलेश्वर माध्यमिक विद्यालयमा निर्माणसम्पन्न विद्यालय भवन हस्तान्तरण गरिएको हो ।

कुल एक करोड ९३ लाख रुपैयाँको लागतमा निर्मित दुईतले आठवटा कोठासहितको पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको लायन्स क्लबले जनाएको छ । नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका गभर्नर ईन्दु लम्सालले क्लबमार्फत मानवीय, शिक्षा र स्वास्थ्यसहित विभिन्न क्षेत्रमा सहयोग गर्ने गरिएको बताएकी छिन् । उनले लायन्सको अभियानमा समुदायको सहयोगले छोटो समयमै भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गर्न सफल भएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने बताइन् ।

सोही अवसरमा लायन्स इन्टरनेशनलको पुनर्निर्माण समितिका अध्यक्ष एवं पूर्व मल्टिपल काउन्सिल चियरपर्सन गिरीधारी शर्माले देशैभर १८ ओटा विद्यालयहरु निर्माणाधीन अवस्थामा रहेकोमा म्याग्दीका दुईवटा विद्यालयमा भवन निर्माण गरिएको जानकारी दिए । उनले अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणको काम सुरु गरेको छोटो समयमै बनाएर समुदायलाई हस्तान्तरण गरिएको बताएका छन् ।

कार्यक्रममा म्याग्दी जिल्लामा विद्यालय भवन निर्माणका लागि डेपुटी चिप एडभाइजर सन्तोष रावल र डिष्ट्रिक को–चिप एडभाइजर चन्द्रकुमार केसीले विशेष भूमिका खेलेको चर्चा समेत गरिएको थियो । उक्त कार्यक्रममा कोचिप एड्भाइजर केसीले क्लबमार्फत तोरीपानी र विममा विद्यालय भवन निर्माण गरिएको जानकारी दिँदै किसानी मावि विममा पनि विद्यालय भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको बताए ।

भवनसँगै तीनकोठे छात्रछात्रा शौचालय, सबै कक्षाकोठाभित्र फर्निचर समेत लायन्सले उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक गणेश बानियाँले जानकारी दिएका छन् । उनले सुविधासम्पन्न भवनले विद्यार्थीको पठनपाठनमा सहज हुने बताउँदै कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३ सय ५६ जना विद्यार्थीहरु अध्ययनरत रहेको बताए । गलेश्वर माविमा कक्षा ८ देखि १२ सम्म सिभिल इञ्जिनियरिङ विषयको पढाई हुुँदै आएको छ ।

हाल ३० जना शिक्षक कर्मचारी कार्यरत विद्यालय २००९ सालमा तत्कालीन प्राथमिक विद्यालयका रुपमा स्थापना भएको थियो । २०३१ सालमा निमावि बनेको विद्यालय २०३७ सालमा मावि र २०६६ सालमा साविकको उच्च मावि बनेको विद्यालयमा २०७० सालबाट प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङको विषयमा अध्ययन÷अध्यापन हुँदै आइरहेको छ । हालसम्म विद्यालयले १९ जना सव–ओभरसियरहरु उत्पादन गर्न सफल भएको विद्यालयले जानकारी दिएको छ ।

कार्यक्रममा लायन्स क्लबका सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर विश्वेश्वर आचार्य, पूर्व सांसद नवराज शर्मा, पूर्व सभासद गोविन्द पौडेल, जिल्ला समन्वय समिति प्रमुख देबेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल र गलेश्वर माविका अध्यक्ष ठहरबहादुर भण्डारीले मन्तव्य राखेका थिए ।

पूर्व सांसद रेशमबहादुर बानियाँको विशेष उपस्थिति रहेको कार्यक्रम लायन्स क्लबका प्रोजेक्ट म्यानेजर गिरीधारी शर्माको अध्यक्षता र सेक्रेटरी राजन लम्सालको सञ्चालनमा सम्पन्न भएको थियो भने लायन्स क्लबका फस्टभाइस डिस्ट्रिक गभर्नर मनबहादुर रोकाले धन्यवादज्ञापन गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायसहित स्थानीयवासीको उपस्थिति रहेको थियो ।

यसैबीच पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विम गाउँमा सञ्चालित किसानी प्राविधिक शिक्षालयमा समेत लायन्स क्लबको सहयोगमा ८ कोठे भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सन् २००७ देखि लगातार क्लबमार्फत म्याग्दी जिल्लामा शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा ठूलो सहयोग प्राप्त भैरहेको छ । लायन्स क्लबले नेपालका ५० वटा सामुदायिक विद्यालयको भवन पुनर्निर्माण गर्ने योजना अनुसार हाल १८ वटा विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।