महाशिवरात्रिमा पासको व्यवस्था खारेज, ५ हजार प्रहरी परिचालन गरिने

0
Shares

ईश्वरराज ढकाल, काठमाडौँ ।

शुक्रबार बसेको महाशिवरात्रि मूल समरोह समितिको पहिलो बैठकले पासको व्यवस्था खारेज गरेको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शिवरात्रिसम्ममा पशुपति क्षेत्र आसपासमा रहेको फोहोरमैला व्यवस्थापन गरिसक्ने बताउनुभएको छ । यस्तै, पशुपतिनाथको महिमा र गरिमालाई उच्च राख्दै पासको व्यवस्था हटाएर दर्शनार्थीलाई सहज वातावरण बनाइदिएको उहाँले बताउनुभयो । मापदण्ड अनुसार माघ मसान्तभित्र सबै काम पुरा हुनुपर्ने भट्टराईले बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले यस वर्षको शिवरात्रिमा पासको व्यवस्था नभएको जानकारी गराउदै कडा सुरक्षा व्यवस्था गरिएको बताउनुभएको छ । सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मा दिइएको उहाँले बताउनुभयो । यस्तै, भित्रि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । मन्दिर दर्शनका लागि जुन ढोकाबाट प्रवेश गरिने छ त्यही ढोकाबाट फर्किने व्यवस्था रहेको ढकालले बताउनुभयो ।

त्यस्तै शिवरात्रिका दिन मन्दिर परिसर वरिपरि मासु, मदिरा तथा धुम्रपान पूर्ण रुपमा निषेधित गरिएको ढकालले जनाउनुभयो । मन्दिर परिसरभित्र रहेका सम्पूर्ण शिवलिङ्गहरुमा फूल तथा प्रसाद चढाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदैै ५००० प्रहरी परिचालन गरिने महानगरीय प्रहरी आयुक्त डिआइजी विश्वराज पोख्रेलले बताउनुभयो । प्रहरी परिचालनसँगै दर्शन गर्ने व्यवस्थामा सुधार गरिने उहाँले जनाउनुभयो । यस वर्षको महाशिवरात्रि फागुन ९ गते परेको छ ।