हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष

0
Shares

हेटौँडा ।

हेटौँडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष ’तयार गरेको छ । वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ । सो भाइरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले दुई वटा कोठा छुट्याएकोे छ । अस्पतालमा हाल दैनिक पाँचदेखि सात सयको हाराहारीमा बिरामी सेवा लिन आउने गरेका छन् ।

सेवा लिन आउने बिरामीमा कोरोना भाइरसको लक्षण हालसम्म देखिएको छैन । भाइरसको लक्षण देखिए तत्काल रगतको नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । अस्पतालले उपचारका लागि आउने बिरामीलाई सो भाइरससम्बन्धी सचेतना समेत गराइराखेको छ ।

यसैबीच प्रदेशको स्वास्थ्य निर्देशनालयले सो भाइरसको सङ्क्रमण फैलिन नदिन अपनाउनुपर्ने सावधानी तथा भाइरस फैलिएमा नियन्त्रणका लागि अपनाउन सकिने उपायका बारेमा छलफल गरेको छ ।