४ स्थानमा सुविधा सम्पन्न शौचालय बन्ने

0
Shares

काठमाडौं, (नेस)।

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका चार स्थानमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण हुने भएका छन्। कामपाको कलंकी, कोटेश्वर, चाबहिल र महाराजगञ्जमा शौचालय बन्ने भएका हुन्।कामपा र गैरआवासीय नेपाली संघ (एनआरएन) बीच हिजो बिहीबार सम्झौता भएपछि ती स्थानमा शौचालय बन्न लागेका हुन्।

सम्झौताअनुसार संघले शौचालय निर्माण गरी पाँच वर्ष सञ्चालन गर्नेछ। त्यसपछि ती संरचना महानगरलाई हस्तान्तरण गर्नेछ।संघले शौचालय निर्माण गर्न कलंकी, बालाजु, राष्ट्रपति कार्यालयको अघिल्तिर, जयबागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन गरेको थियो।

यसरी अध्ययन गरिएका स्थानमध्ये चार ठाउँमा निर्माण, सञ्चालन र हस्तान्तरण गर्न दुवै पक्ष मञ्जुर भएपछि सम्झौता भएको हो। कामपाको तर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले र संघका तर्फबाट कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

निर्माण गरिएका शौचालय सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति तथा व्यवस्थापकीय काम संघले गर्नेछ। ती शौचालय सञ्चालन गर्दा महानगरले तोकेको शुल्क लिइनेछ। यसरी संकलन भएको शुल्कबाट व्यवस्थापन र मर्मत सम्भारको काम गरिसकेपछि बाँकी पैसा थप शौचालय निर्माणका लागि खर्च हुनेछ।

सम्झौताको कार्यान्वयन कलंकी र कोटेश्वरमा शौचालय निर्माण गरेर अघि बढाइने संघले जनाएको छ।संघले अघि सारेको प्रस्तावअनुसार कलंकीमा निर्माण हुने शौचालय ४० फिट लम्बाइ र १६ फिट चौडाइको हुनेछ। यसभित्र पुरुषका लागि पिसाब फेर्ने तीनवटा युरिनल र दुइवटा शौचालय हुनेछन्।

त्यस्तै, महिलाका लागि चारवटा र अपा·ता भएका व्यक्तिका लागि एउटा शौचालय हुनेछ। त्यस्तै, कोटेश्वरमा पुरुषका लागि सातवटा युरिनल र दुइवटा शौचालय हुनेछन् भने अपा·ता भएका व्यक्तिका लागि एउटा र महिलाका लागि ६ वटा शौचालय बनाइनेछ।

महिला शौचालयमा स्यानिटरी प्याड फाल्न मिल्ने तथा फालिएका प्याडलाई बाष्पीकरण गरेर जोखिममुक्त बनाउने प्रविधि जडान हुनेछ। त्यस्तै, बच्चालाई प्याड फेराउने र स्तनपान गराउने ठाउँको पनि प्रबन्ध हुनेछ। प्रतिघण्टा सय व्यक्तिले प्रयोग गर्ने आंकलन गरी यस प्रकारको शौचालयको ढाँचा अघि सारिएको हो।

यी शौचालय निर्माण गरिसकेपछि बाँकी दुई स्थानमा निर्माण कार्य अघि बढाइने संघका कार्यकारी अधिकृत दवाडीले जानकारी दिए।सम्झौताका क्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले संघका आबद्ध सदस्यहरूसँग भएको ज्ञान, सीप र क्षमता काठमाडौंवासीको जीवनस्तर उकास्ने खालको ठूलो काममा प्रयोग गर्नुपर्ने बताइन्।

संघले निर्माण गरेको शौचालय नमुना र उदाहरणीय हुनुपर्छ। यसो हुन सकेन भने पूर्वाधार निर्माण र यसको गुणस्तरीयतामा जनताले कसैलाई विश्वास गर्ने ठाउँ हुँदैन। उपप्रमुख खड्गी श्रेष्ठको भनाइ छ।

संघका कार्यकारी अधिकृत दवाडीले नमुना शौचालय तयार भइसकेपछि संघसँग आबद्ध विभिन्न देशका शाखाहरूबाट पनि सार्वजनिक कामका लागि सहयोग प्राप्त हुने अपेक्षा गरेको बताए।

सम्झौताका अवसरमा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ, फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बराललगायत अधिकारीहरूको सहभागिता रहेको थियो।