राष्ट्रपति ट्रम्प दुईवटा महाअभियोगबाट बच्न सफल

0
Shares

वासिंगटन, (एजेन्सी)। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट विस्थापित गर्ने उद्देश्यले लगाइएको महाभियोगको मुद्दामा अन्ततः उनले सफाइ पाएका छन्। उनको महअभियोगको विषयमा अमेरिका नराम्ररी विभाजित भएको थियो। सिनेटमा उनकै समर्थक रिपब्लिकनहरुले उनलाई सफाइ दिन गरेको मतदानमा उनको पक्षमा ५२ र विपक्षमा ४८ मत खसेको हो।

यसैबीच ट्रम्पले कंग्रेसमा अवरोध पुर्याइ आफ्नो पदीय अधिकार दुरूपयोग गरेको भन्ने अभियोगमाथि भएको मतदानमा पनि उनको पक्षमा ५३ र विपक्षमा ४७ मत खसेको छ। गत वर्षको डिसेम्बरमा डेमोक्रेटहरुले ट्रम्पविरुद्ध राष्ट्रपतीय भवन ह्वाइट हाउसका आफ्ना एकजना प्रतिद्वन्द्वीलाई बदनाम र अपमान गर्न युक्रेनमाथि दबाब दिएको आरोप लागाएका थिए।

अब ट्रम्प अमेरिकाको इतिहासमा महाभियोग लगाइएर पुनः चुनाव लड्ने पहिलो राष्ट्रपति हुनेछन्। अमेरिकामा कंग्रेसलाई राष्ट्रपति विरुद्ध महाभियोग लगाएर मुद्दा चलाउने अधिकार छ। तर यो मुद्दा आपराधिक नभएर राजनीतिक हुन्छ। बुधबार सिनेटमा भएको ऐतिहासिक मतदानले अमेरिकाका ४५औं राष्ट्रपति ट्रम्पलाई युक्रेको विषयलाई लिएर पदबाट नहटाउने निर्णय गरेको हो।

यदि आफूमाथि लगाइएका दुईवटै अभियोगमा दोषी ठहरिएको खण्डमा ट्रम्पले आफ्नो पद उपराष्ट्रपति माइक पेन्सलाई सुम्पिनुपर्ने स्थिति आउने थियो। डेमोक्रेटिकको नेतृत्वमा रहेको प्रतिनिधिसभाले गत १८ डिसेम्बरमा ट्रम्पविरुद्ध महाभियोग लगाउने बुँदाहरु अनुमोदित गरेको थियो।

वास्तवमा आगामी ३ नोभेम्बरमा हुने चुनावमा दोस्रो चार वर्षीय कार्यकालका लागि उम्मेदवारी दिने योजनामा रहेका ट्रम्पले शुरूदेखि नै आफूबाट कुनै पनि गलत कार्य नभएको अडान लिँदै आएका थिए।

सर्भेक्षण निकाय ग्यालपका अनुसार यसै साता गरिएको सर्भेक्षणअनुसार ट्रम्पप्रति ४० प्रतिशत अमेरिकी जनताको समर्थन रहेको छ। ट्रम्पले पदीय अधिकार दुरूपयोग गरेको भन्ने अभियोगमा उनीविरुद्ध मतदान गर्नेमा एक मात्र रिपब्लिकन सिनेटर युताहका मिट रोम्नी रहेका छन्।

डेमोक्रेटिकहरुको आशा र अनुमानअनुसार अन्य दुईजना उदार रिपब्लिकन सिनेटर मेनेका सुसान कोल्लिन्स र अलास्काका लिसा मुर्कोस्कीले ट्रम्पविरुद्ध मतदान गरेका छैनन्। पछिल्ला दिनहरुमा अन्य केही रिपब्लिकनहरुले पनि ट्रम्पको व्यवहारको अलोचना गर्न थाले पनि उनलाई महाभियोगैसम्म लगाउनु नपर्ने विचार व्यक्त गर्ने गरेका थिए।

यसैबीच रिपब्लिकनहरुले आफूलाई साथ दिने अपेक्षा गरिएका तीनजना मध्यमार्गी डेमोक्रेटहरुले पनि ट्रम्पविरुद्ध नै मतदान गरेको बुझिएको छ। तिनीहरु एरिजोनका किस्र्टेन सिनेमा, वेस्ट भर्जिनियाका जोय मान्चिन र अलावामाका डोउग जोनेस रहेका छन्।

सन् २०१९ को २५ जुलाईमा ट्रम्पले युक्रेनका समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई ‘एउटा सहयोग गर्नुपर्यो’ भन्दै गरेको टेलिफोनबाट महाअभियोगको अनुसन्धान शुरू भएको थियो।