सांस्कृतिक चित्र र मूर्तिले सजिँदै उपत्यका

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले राजधानीका विभिन्न स्थानमा कला र संस्कृति झल्कने चित्रहरू राख्ने भएको छ। कामपाले अबको पाँच महिनाभित्र राजधानीका दुई दर्जनभन्दा बढी स्थानलाई कलासंस्कृति, धर्म र चाडपर्व झल्कने चित्र, मूर्ति र प्रस्तर कलाका सामग्रीले सजाउनेछ।

काठमाडौं भ्रमणमा आउने विदेशी र स्वदेशी पाहुनालाई आकर्षित गर्न पहिलोपटक स्थायीरूपमै रहने गरी प्रदर्शन गर्न लागिएको हो। कामपा पर्यटन तथा सम्पदा विभागका निर्देशक रामबहादुर थापाले सन् २०२० पूरा हुनुअघि नै सबै स्थानमा विभिन्न किसिमका मूर्त र अमूर्त कला देखिने चित्र र मूर्ति निर्माण गरिने जानकारी दिनुभयो।

महानगरले कालोपुलबाट गौशाला जाने बाटोको पर्खालमा आराध्यदेव पशुपतिनाथको त्रिशूल जात्राको चित्रकला तयार गरिनेछ। पुरानो सिनामंगल आयल निगमको पर्खालमा हाँडीगाउँको जात्रा, माइतीघर हाइटको पर्खालमा इन्द्रजात्रा र दशरथ रंगशालाको पर्खालमा अष्ट मातृकाको मूर्ति निर्माण गर्ने

चित्रकलामा पोख्त कलाकारलाई सहभागी गराएर चित्रकला तयार गरिने निर्देशक थापाले जानकारी दिनुभयो। रंगशालाको पर्खालमा शक्तिपीठ देवीको चित्र निर्माण गर्ने कामको प्रारम्भिक चरण शुरू भइसकेको उहाँको भनाइ छ। कामपाद्वारा गठित स्कल्प्चर तथा कलासंस्कृति प्रतिष्ठापन निर्देशक समितिले बुझाएको प्रतिवेदनका आधारमा कामपाले राजधानीलाई कलासंस्कृतिसँग जोडिएका तस्वीरले सजाउन लागेको हो।

कामपाका मेयर विद्यासुन्दर शाक्यले नेपाल पर्यटन वर्षमा आउने पर्यटकले काठमाडौंको चिनारी सजिलै बुझन सकून् भन्ने उद्देश्यले राजधानीलाई सिँगार्न शुरू गरिएको बताउनुभयो। महानगरले आधुनिक कला र संस्कृतिसँग जोडिएका र नेवार समुदायको चिनारीका रूपमा रहेका चाडपर्वलाई चिनाउन विभिन्न स्थानमा पर्वमा बजाइने बाजा र पर्वको चित्र तयार गर्नेछ।

विभागका निर्देशक थापाका अनुसार महानगरभित्रका ६ वटा आकाशेपुलमा गुँलापर्व, जंकु, नेवार समुदायले वर्षभरि पूजा गर्न प्रयोग गरिने १२ थरिका फूलको चित्र राखिनेछ। कामपाले पहिलो चरणमा चित्रकला र दोस्रो चरणमा मूर्तिकला र तेस्रो चरणमा प्रस्तरकलाका चित्र राखिने भएको छ।

करिब ६ महिनाभित्र सबै काम सम्पन्न गर्ने गरी योजना तयार गरिरहेको थापाको भनाइ छ। कामपाले १० करोड रुपियाँ लागतमा चित्र, प्रस्तर र मूर्तिकला तयार गर्न लागेको हो।