प्रदेशमा जैविक अनुसन्धान केन्द्र खोल्न प्रदेश सरकार तयारः मुख्यमन्त्री राई


सरोज यादव, विराटनगर ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले जैविक अनुसन्धान केन्द्र खोल्नका लागि सरकारले उच्च प्राथमिकता दिने बताउनु भएको छ । बिहीबारदेखि विराटनगरमा सुरु भएको दुई दिने राष्ट्रिय वैज्ञानिक सम्मेलनको उद्घाटन गदै मुख्यमन्त्री राईले जैविक विविधताको संरक्षण गर्दै त्यसको अभिलेखीकरण उचित बजार व्यवस्थापनका लागि प्रदेश सरकार जैविक अनुसन्धान केन्द्र खोल्न तत्पर रहेको बताउनु भएको हो ।

मुख्यमन्त्री राईले जैबिक सम्मेलनले निकालेको निष्कर्षअनुसार प्रदेश सरकार एकीकृत जैविक स्रोतको समृद्धिका लागि प्रयोग गर्न अग्रसर हुने जानकारी गराउनुभयो । जैविक स्रोतहरूलाई एकीकृत रूपले समृद्धिका लागि प्रयोग गर्न गराउनका लागि विराटनगरमा दुई दिन राष्ट्रिय जैविक सम्मेलन आयोजना भएको हो । समृद्धिका लागि एकीकृत जैविक स्रोत नामले बिहीबारदेखि सुरु भएको दुई दिने राष्ट्रिय जैविक सम्मेलनमा नेपाल, भारत र बंगलादेशका तीन सय बढी जैविक विज्ञहरू सहभागी छन् ।

सम्मेलनमा ८० प्रतिशत युवा जैविक विज्ञहरू उपस्थित छन् । एक नम्बर प्रदेश सरकार, जैविक स्रोत समाज विराटनगर र नेपाल वनस्पति समाज काठमाडौंको आयोजनामा भएको सम्मेलनले नेपालमा भएका जैविक स्रोतहरूको खोजी गरी त्यसको संरक्षण र बजारीकरणका लागि मार्गप्रस्त गर्नेछ । आयोजक सदस्य तथा जैविक विज्ञ रामचन्द्र अधिकारीका अनुसार सम्मेलनमा २ सय १५ वटा जैविक विविधताबारे कार्यपत्रहरू प्रस्तुत हुनेछन् ।

विभिन्न २७ वटा समूहमा प्रस्तुत हुने कार्यपत्रहरूबाट निकालिएको निष्कर्ष समृद्धिका लागि एकीकृत राष्ट्रिय घोषणा पत्रका रूपमा प्रस्तुत गरिनेछ । उदघाटन सत्रमा जैविक विज्ञ डा रामप्रसाद चौधरी, प्रोफेसर डाक्टर प्रमोदकुमार झा र संघीय सरकार वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले संक्षिप्त कार्यपत्र प्रस्तुत गर्नुभएको छ। जसले देशमा प्राप्त हुने जडिबुटीहरूको प्रशोधनसहित अन्तर्रा्ष्ट्रिय तहमा बजारीकरण गर्न, संरक्षणका लागि जडिबुटी र वनस्पतिहरूको अध्यन–अनुसन्धान गर्न–गराउनका लागि संघ र प्रदेश तहमा नीति निर्माण गर्न सहयोग र्पुयाउने छ ।