कोरोना भाइरसविरुद्ध प्रदेश सरकार सावधानी


न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशमा सामाजिक विकास मन्त्रालयअन्तर्गत् उच्चस्तरीय समिति र प्रदेशस्तरीय द्रुत प्रतिकार्य समिति गठन गरी कोरोना भाइरसविरुद्ध कार्यहरु अगाडि बढाइएको छ ।

प्रदेश सरकारले कोरोना भाइरसबाट सतकर्ताका लागि अस्पतालदेखि नाका हुँदै विमानस्थलमा समेत सतकर्ता अपनाएको हो । प्रदेश सरकारले चीनसँगको नाका तातोपानी, केरुङ, भक्तपुर, भरतपुर विमानस्थलमा हेल्थडेक्स राखेको छ । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय सरकारले नै हेल्थडेक्स राखिसकेको छ । छिमेकी देश चीनबाट कोरोना भाइरस फैलिएकोले जोडिएको प्रदेशमा पनि संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सुरु गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. गोकर्णमणि दुवाडीको संयोजकत्वमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रमेश अधिकारी, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र निर्देशक डा. वसन्त अधिकारी, प्रदेश स्वास्थ्य तालिम केन्द्र निर्देशक बद्री खड्का, प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. नारायणबहादुर कार्की, सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंलगायतको उच्चस्तरीय समिति गठन गरी नाका तथा पर्यटकीय क्षेत्रमा विषेश सावधानी अपनाएर काम भइरहेको हो ।

स्वास्थ्य निर्देशक अधिकारीको संयोजकत्वमा प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी तथा सरसफाइ प्रमुख, सामाजिक विकास महाशाखा प्रमुख, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, पशुसेवा कार्यालय प्रमुख, सामाजिक विकास मन्त्रालय चिकित्सा शाखा प्रमुख सम्मिलित प्रदेशस्तरीय द्रुत प्रतिकार्य समिति पनि गठन गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले स्वस्थ्य व्यबहारले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने बताउँदै हेटौंडा अस्पतालमा आयोजना गरेको पत्रकार अन्तत्र्रिmयामा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अधिकारीले कोरोना भाइरस हावामा एक मिनेट र मानव शरीरमा चौध दिनसम्म मात्र जीवित रहन सक्ने हुँदा उक्त संक्रमण आफ्नै स्वस्थ्य व्यबहारले नियन्त्रण गर्न सकिने बताउनुभयो ।

रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका, ज्येष्ठ नागरिक, दीर्घरोगीलाई उक्त भाइरसले छिट्टै प्रभाव पार्ने भएकोले विशेष ख्याल गर्न तथा अन्य व्यक्तिसँग सम्पर्कमा आउँदा करिब तीन फिट दुरी कायम गर्न उहाँले आग्रह गर्नुभयो ।

डा. अधिकारीले विषेशगरी उच्च ज्वरो आउने, स्वाशप्रस्वासमा समस्या, लामो समयसम्म रुघाखोकी लागिरहने लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श लिन सुझाउनुभयो । बिरामीमा भाइरसको लक्षण देखिए हेटौंडा अस्पताल र चितवन अस्पतालमा तत्काल छुट्टै राखेर उपचार गर्ने व्यबस्था गरिएको उहाँले बताउनुभयो । ओपीडीमा सबै बिरामीको उपचार गर्दा भाइरस फैलनसक्ने भएकाले दुई बेडको छुट्टै दुई वटा कोठाको व्यबस्था गरिएको छ ।

सरकारले चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइनस्थल व्यबस्थित गर्ने तयारी गरे पनि त्यसको सम्पूर्ण तयारी गर्न कम्तिमा एक हप्ता लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्रोतले बताएको छ ।

अन्तक्रियामा नोबेल कोरोना भाइरसको परिचय, सर्ने तरिका, लक्षण र यसको संक्रमणबाट बच्ने तरिकाबारे छलफल गरिएको थियो । विश्वभरका २४ देशमा २० हजार ६ सय ३० जनामा यसको संक्रमण देखिएको जानकारी दिँदै डा. अधिकारीले चीनमा मात्र २० हजार ४ सय ७१ जनामा यसको संक्रमण देखिएको जानकारी दिनुभयो ।
हालसम्म कोराना भाइरसका कारण २.२ प्रतिशतका दरले मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । उक्त भाइरसबाट हालसम्म ४ सय २५ जनाको मृत्यु भएकोे छ । नेपालमा भने शंकास्पद् १४ जनालाई परीक्षण गर्दा १ जनामा मात्र यसको संक्रमण फेला परेको थियो ।

अन्तर्राष्ट्रिय नाकाका रुपमा परिचित रसुवागढी नाकामा माघ १० गतेबाट हेल्थडेस्क स्थापना गरी केरुङबाट नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको जाँच सुरु भएपछि ४ सय ७१ नेपाली स्वदेश फर्किएका छन् भने केरुङमा अझ ६६ नेपाली छन् ।

हाल रसुवागढी नाकामा दुवैतर्फका सुरक्षा अधिकारी तैनाथ छन् । दुवैतर्फ सरकारी कार्यालय खुला छन् । चिनियाँ पक्षले केरुङ प्रवेश गर्ने पर्यटकलगायत सवारीसाधन आवतजावतमा रोक लगाएको छ । केरुङमा रहेका नेपालीलाई स्वदेश फर्कन दिइएको छ ।