सिमा सुरक्षाको माग गर्दै प्रधान सेनापतिलाई अपिल


किरन धामी, दार्चुला ।

भारतले अतिक्रमण गरेको सिमा रक्षाको लागि भुतपुर्व सैनिकहरुले प्रधान सेनापति पुर्णचन्द्र थापालाई अपिल गरेका छन् । दार्चुलाको ब्याँस गाउँपालिकामा पर्ने नेपाली भुमी कालापानी र लिम्पियाधुरा लगायत सिमा रक्षाको माग गर्दै दार्चुला जिल्लाका भुतपुर्व सैनिकहरुले प्रधान सेनापति थापालाई कालापानी र लिम्पियाधुराको माटो सहित अपिल गरेका हुन् ।

कैलालीको तेघरीमा विहीबार आयोजित भुपु सैनिक सम्मेलनको उद्घाटन गर्न त्यहाँ पुगेका प्रधान सेनापति थापालाई भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी र लिम्पियाधुरा सिमा विवादको स्थायी समाधान गर्न माटो सहित अपिल पत्र बुझाएको दार्चुलाका भुतपुर्व सैनिक रघुविर सिंह ठगुन्नाले जानकारी दिनुभयो ।

विर सहिद भिमसेन थापा, अमर सिंह थापा र काजीकालु पाण्डेयले अर्जेको देशको सिमा रक्षा गर्ने दायित्व नेपाली सेनाको भएको भन्दै कालापानी र लिम्पियाधुराको सिमा विवादको स्थायी रुपमा समाधानका लागी पहल गर्न नेपाल सरकार समक्ष दवाव दिन अपिल गरिएको उहाँले बताउनुभयो । ब्याँस गाउँपालिका अन्र्तगतको कालापानी लिम्पियाधुरा सम्म जान नेपाल तर्फ पैदल बाटो नहुनु, अपिनाम्पा संरक्षण क्षेत्र कार्यक्रम निष्कृय हुनु, सुरक्षाको पहुँच नहुनुले सो क्षेत्रका जनताले सुरक्षाको प्रत्याभुती गर्न नसकेको भन्दै अपिनाम्पा संरक्षण क्षेत्रलाई आरक्षण बनाई सेनालाई सुरक्षाको जिम्मेबारी दिन सरकारसँग समेत अपिल गरिएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरीको बिओपी राख्न प्रस्ताव गरिएको ब्याँस गाउँपालिकाको छाङ्गरु गागा बगडमा नभई मल्लो कौवा भन्ने स्थान राख्नुपर्ने समेत अपिल मार्फत माग गरिएको भुपु सैनिक ठगुन्नाले बताउनुभयो । प्रधान सेनापति थापाले भुपु सैनिकको अपिल पत्र बुझ्दै भारतले अतिक्रमण गरेको कालापानी र लिम्पियाधुरा नेपालको भएको बताउनुभयो । ‘प्रधान सेनापति ज्यूले कालापानी हाम्रो हो, हाम्रै हुन्छ ढुक्क हुनुस भन्नु भएको छ, भुपु सैनिक रघुविर सिंह ठगुन्नाले भन्नुभयो ।’