दशगजाबाट कस्टम चेकपोस्ट हटाउन अटेरी


सुभेन्द्र दास, लहान ।

मंगलबार सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाँडीस्थित नेपाल–भारत सीमामा सर्वेक्षण टोली पुगेको थियो । त्यहाँ गत शनिबार सशस्त्र प्रहरी सिरहाले अस्थायी जाँच चौकी स्थापना गर्न खोज्दा भारतीय सुरक्षा बल(एसएसबी)ले रोकेका थिए । सोही विवाद समाधन गर्न भारततिरका टोली प्रमुख मंजिल ममगाँई र नेपालतर्फका उमेश कुमार पुगे ।

सर्वेक्षण टोलीले दशगजा क्षेत्रभन्दा दुई फिट उत्तरतिर सारेर सशस्त्र प्रहरीलाई अस्थायी जाँच चौकी बनाउन अनुमति दिए। प्रहरीले चौकी बनाउन सुरु गरे। तर भारततिर दशगजा कब्जा गरी कस्टम अफिस र एसएसबीले चेक पोस्ट वर्षौंदेखि राखेको छ। भारतीय पक्षले स्वागतद्वार र पक्की सडक पनि दशगजामै बनाएको छ। त्यो हटाउन भारततर्फका सर्वेक्षण टोलीका प्रमुख ममगाँईले केही बोलेनन्।

गत पुस तेस्रोसाता भारतीय कस्टम अफिसले थप एउटा स्वागतद्वार निर्माण गर्न थालेका थिए। स्थानीयले विरोध गरेपछि प्रहरी प्रशासनले चासो लियो। पुस २२ देखि २४ गतेसम्म सीमा सर्वेक्षण टोलीले नापी र्गयो। दशगजामै परेपछि काम रोकियो। ‘भारतका कस्टम र एसएसबीको चेक पोस्ट दशगजामै पर्छ। हामी नापी गरेर रिर्पोट सम्बन्धित निकायमा बुझाउँछौँ। खाली गराउने भारत सरकार निर्देशन चाहिन्छ। त्यो आएको छैन,’ ममगाँईले भने,‘यहाँ पिलर नभएका कारण समस्या देखिएको छ। हामी अब पिलर राख्न पहल गर्छौं। हाल एक किलोमिटरको दूरीमा पिलर छ।’

पहिले दशगजा खाली थियो। अहिले दुवैतिर बस्ती छन्। नेपाल–भारत दुवै देशका बासिन्दाले पसल र टहरा थापेका छन्। दुवै देशले जग्गामा आ–आफ्नो दाबी गरिरहेको उनले बताए। यसका लागि माथिल्लो निकायबाट पहल आवश्यक रहेको उनको भनाइ छ।

‘पटक पटक भारतीय पक्ष दशगजामा दादागिरी देखाउन आउँछ। सकेसम्म हामीले रोक्ने प्रयास गरेका छौं,’ स्थानीय कन्हैया भट्टले भने, ‘माथिल्लो निकायबाट समस्या निराकरण गर्न ठोस कदम चाल्नुपर्छ।’ दशगजाको ‘मिड प्वाइन्ट’बाट दुवैतिर ९ दशमलब १ मिटर खाली हुनुपर्ने हो। तर भारतीय पक्षले दशगजाको मिड प्वाइन्ट कब्जा गरी नेपालतर्फ कस्टम अफिस र एसएसबीको चेक पोस्ट खडा गरेको उनले बताए।

हालसालमा कुनै किसिमको दशगजा नमिचिएको र केही दिनअघि भारतीय कस्टमले बनाउन लागेको स्वागतद्वार पनि रोकिएको सशस्त्र प्रहरी सिरहाका एसपी प्रवीण कंडेलले बताए। ठाडीमा सीमा सुरक्षा र चेकजाँचको कडाइ गर्न दशगजा नजिकै अस्थायी जाँच चौकी पनि स्थापना गरिएको उनले बताए।

नयाँ सीमा स्तम्भ ठड्याउँदै

नेपाल–भारत सीमा सर्वेक्षण टोली नम्बर दुईको उपस्थितिमा सशस्त्र प्रहरी सिरहाले दशगजामा बिजोर नम्बरका सीमा स्तम्भ ठड्याउन सुरु गरेको छ। आइतबारसम्म ५४ वटा सानो खालको स्तम्भ निर्माण भएका छन्। पुरानो, हराएका र भत्केका ठाउँमा सिरहा नगरपालिका–१६ माडरबाट नयाँ सीमा स्तम्भ राख्न सुरु गरिएको सशस्त्र प्रहरीका एसपी कंडेलले बताए।

३८८ वटा स्तम्भमध्ये समस्या देखिएका ठाउँमा नयाँ राखिने एसपी कंडेको भनाइ छ। ‘सीमा सर्वेक्षण टोलीको उपस्थितिमा काम भइरहेको छ। निर्माण कार्य जारी छ,’ उनले भने।