उपमेयरद्वारा मेयरविरुद्ध १८ करोड भ्रष्टाचार गरेको उजुरी दर्ता


न्युज अफ नेपाल,रौतहट ।

रौतहटको देवाही गोनाही नगरपालिकाकी उपमेयरलगायतले मेयरविरुद्ध उजुरी दर्ता गराएका छन्। प्रधानमन्त्री कार्यालय, सङ्‌घीय मामिला मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपमेयर परनियादेवी पट्टेलसहितले लिखित उजुरी दिएका हुन्।

देवाही गोनाही नगरपालिकाकी उपमेयर परनियादेवीलगायतले नगरपालिकाका मेयर धर्मेन्द्रकुमार पट्टेलले नगरसभाबाट पारित नगरी बजेट वितरण गरेर १८ करोड बढी भ्रष्टाचार गरेको आरोपसहित उजुरी दर्ता गराएका छन्।

उपमेयरलाई सोही नगरपालिकाका वडाध्यक्षहरूले पनि साथ दिएका छन्। उजुरीपत्रका अनुसार ‘आर्थिक वर्ष २०७५।०७६ को बजेट नगरसभावाट पारित नगरी तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र पटेल, मनोज झा र लेखापाल नागेन्द्र यादवसमेतको मिलोमतोमा देवाही नगरपालिकाको सञ्चित कोषमा जम्मा भएको झन्डै १८ करोड २६ लाखभन्दा बढी रकम नगरप्रमुख र संलग्नहरूले आफ्नो पदीय अधिकारको चरम दुरुपयोग गरी भ्रष्टाचार गरेका छन् ।’

भ्रष्टाचार गरिएको भनिएको रकम सशर्त अनुदानतर्फको झन्डै ८ करोड ९८ लाख, राजस्व वाँडफाँडतर्फको ५ करोड ३९ लाख, मालपोततर्फको आन्तरिक आम्दानीबाट ६७ लाख, प्रदेशतर्फको विशेष अनुदान ९७ लाख र सङ्‌घीय सरकारबाट समानीकरण अनुदानमार्फत प्राप्त २ करोड २५ लाख रहेको उल्लेख गरिएको छ।

सञ्चित कोषमा जम्मा भएको रकम नेपालको संविधानको धारा २९९ (२), स्थानीय सरकारको सञ्चालन ऐन–२०७४ को परिच्छेद १० बमोजिम आर्थिक कार्यप्रणालीसबन्धी प्रक्रिया पूरा गरेर सोही ऐनको दफा १०२ बमोजिम आर्थिक ऐन र विनियोजन ऐन स्थानीय राजपत्रमा प्रकाशित नगरी, नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम र बजेट समेटिएको नगर विकास कार्यक्रम पुस्तिका सार्वजनिक गरी नगरपालिकासँग भएको सञ्चित रकम खर्च गर्ने व्यवस्था छ।

‘उल्लेखित संवैधानिक तथा कानुनी व्यवस्थाविपरीत नगर प्रमुख पट्टेलले नगरपालिकाको आव २०७५।७६ को बजेट नगरसभाबाट पारित नगरी मिलोमत्तोमा आफ्नो पद र अधिकारको चरम दुरुपयोग गरी भ्रष्टाचार गरेकाले कारबाहीको माग गरिएको छ।