सालकको संरक्षणका लागि श्रीमद्भागवत


न्युज अफ नेपाल, हेटौंडा ।

विश्वकै लोपोन्मुख सूचीमा सूचीकृत सालकको संरक्षणका लागि हेटौंडा–१७ मा रहेको सालक पार्कमा १००८ स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग अनुष्ठान हुने भएको छ ।

फागुन २ गते सुरु हुने भागवत १० गतेसम्म सञ्चालन हुने आयोजक संस्था यज्ञ सम्पादन मुल समारोह समिति संयोजक एवम् चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष अर्जुनप्रसाद दाहालले बताउनुभयो ।

महाशिवरात्रि तथा नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वारा राष्ट्र, शान्ति, लोककल्याण र समस्त जीवात्माको सुखशान्तिका साथै विश्वकै लापोन्मुख सूचीमा परेको सालक संरक्षणका लागि भागवत सञ्चालन गर्न लागिएको संयोजक दाहालले बताउनुभयो । राष्ट्रिय विभूषित नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीजी प्रमुख वाचकत्वका रुपमा रहने आयोजकले जनाएको छ ।

अनुष्ठानमा करिब १५ हजार भक्तजनको उपस्थिति हुने अनुमानसहित १ करोड संकलन हुने अनुमान आयोजकले गरेको छ । १७ वटा उपसमिति गठन गरी तीव्ररुपमा तयारी गरिरहेको आयोजकले जनाएको छ ।

प्रचारप्रसार स्वरुप १ गते हेटौंडा उपमहानगरको विभिन्न स्थानमा पुगेर मोटरसाइकल र्याली गरिने प्रचारप्रसार समिति संयोजक नवराज गौतमले बताउनुभयो । स्थानीय वन समूहले २०६३ सालदेखि सालकको बासस्थान, आहार, प्रचारप्रसार, कानुनी प्रावधान, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

अत्यन्त लजाउने सालकको चोरीशिकारी हुने गरेको छ । सालकको खपटाबाट ज्याकेट बनाउने र गुम्बामा राख्ने चलन छ । स्थानीय वन समूहहरुले सालक संरक्षणका लागि वन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी उपयुक्त वातावरण तयार गरेका छन् ।

दिउँसो नदेखिने र रातको समयमा सक्रिय हुने हुँदा यसको चोरीशिकारी हुनुका साथै कुकुरले मारेर खाने गरेको भेटिएकोले पार्क नै बनाएर संरक्षणको थप प्रयास गरिएको हो । सालकले जंगलमा पाइने कमिला र धमिरा खाएर यसले आफ्नो जीवनयापन गर्ने गर्दछ । सालक जोगाउन सालकको आहारा कमिला र धमिराको गोलो संरक्षणमा स्थानीय उपभोक्ता जुटेका छन् ।

सालक नेपालका २६ वटा संरक्षित बन्यजन्तुमध्ये एक हो । लजालु जीव र तस्करको आँखामा परेको सालकको मासु र खपटा तस्करी हुने गर्दछ । सालकबारे जानकारी दिन मकवानपुरका पर्यटकीय क्षेत्रहरु, चुरियामाई मन्दिर, राजमार्ग, बन कार्यालयलगायत क्षेत्रमा होर्डिङ बोर्ड राखिएका छन् ।

वनविज्ञान स्नातक तहका विद्यार्थीका पाठ्यक्रममा समावेश सालकका बारेमा पढ्न वर्षेनी सयौं विद्यार्थी स्थानीय बन समूहमा पुग्छन्, प्रत्यक्ष हेर्छन् र त्यसको संरक्षणका लागि योजना बनाउने गर्छन् । सालकबारे जनस्तरसम्म जानकारी पु¥याउन विश्व बन्यजन्तु कोषअन्तर्गत् सञ्चालित तराई भूपरिधि कार्यक्रमसँग सम्झौता गरी विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।