संसद्मा कोरोना भाइरस बहस

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिने विषयमा सरकार गम्भीर नभएको सांसदहरूले बताएका छन्।सरकारले कोरोना भाइरस संक्रमण नेपालमा फैलिन नदिन प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै चीनमा रहेका नेपालीलाई सुरक्षितरूपमा स्वेदश फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरूले चीनमा रहेका नेपालीलाई सुरक्षितरूपमा नेपाल फर्काउन सरकारले तीव्रताका साथ काम गर्नुपर्ने माग गरेका हुन्।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनमा अलपत्र परेका नेपालीलाई सरकारले उद्धार गर्न नसकेकोप्रति असन्तुष्टि जनाउनुभयो। उहाँले सरकारलाई व्यंग्य गर्दै भन्नुभयो– ‘चीनमा अलपत्र नेपालीलाई स्वदेश फर्काएर राख्ने ठाउँ नभए संसद् भवन खाली गरेर राखौं।’

३ सय ४ रोपनी जग्गा हायात होटलले कब्जा गरेर राखेको बताउँदै सांसद यादवले थप्नुभयो– ‘हायात होटल खाली गरेर नेपालीको जीवन जोगाऔं।’नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिन सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो। उहाँले चीनमा रहेका नेपालीलाई सुरक्षितरूपमा नेपाल फर्काउन सरकारले तीव्रताको साथ कदम चाल्नुपर्ने बताउनुभयो।

हुन पनि चीनमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएर राख्ने स्थानबारे सरकारले अहिलेसम्म कुनै निर्णय लिनसकेको छैन।सांसदहरूले नेपालमा कोरोना भाइरस संक्रमण फैलिन नदिन तत्काल काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए। सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमण नियन्त्रण गर्न सरकारले आन्तरिक तयारी गरेको जानकारी दिनुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विज्ञहरूसँग दुईपटकसम्म बैठक बसेको जानकारी दिँदै मन्त्री ढकालले संक्रमण फैलिन नदिन आवश्यक तयारीको योजना बनाएको, यसबारे बच्ने उपायसहित चेतनामूलक विज्ञापन गरिएको र अस्पतालतहरूसँग विभिन्न समयमा बैठक बसेर अन्तक्र्रिया र परामर्श गरिरहेको बताउनुभयो।

चीनमा रहेका नेपाली विद्यार्थीलाई विलम्ब नगरी नेपाल ल्याउने तयारी भइरहेको दाबी गर्दै उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय मान्यतालाई हेर्दा उनीहरूलाई ल्याउन जरुरी छ तर उनीहरूबाट अरूमा रोग संक्रमण नहोस् भनेर सावधानी अपनाउन पनि जरुरी छ। जुन देशमा चीनबाट नागरिक ल्याएर संरक्षण गरियो, त्यहाँबाट पनि छिटपुट प्रतिक्रिया आएको छ। जोखिम नहुने सुनिश्चिता गरेर मात्रै ल्याउने तयारीमा छौं।’

मन्त्री ढकालले यसका लागि बस्तीभन्दा टाढा रहेको ठाउँ छनोट गरिएको बताउनुभयो। दूतावासमार्फत चीनमा रहेका १ सय ८० नेपाली नागरिकले नेपाल फर्कन फर्म भरेको बताउँदै मन्त्री ढकालले उनीहरूमाथि सबैभन्दा पहिलो परीक्षण चीनमा हुने र ती नेपालीमा संक्रमण भए चीन सरकारले नेपाल नपठाउने जानकारी दिनुभयो।

‘चीनमा रहेका नेपालीलाई नेपाल ल्याउँदा विमानस्थलमा लिन जाँदा सम्पूर्ण साधन लिएर जानुपर्ने अवस्था छ। घरमा जाने सुविधा हुँदैन। १४ दिन न्यूनतम क्वारेन्टाइनमा राख्नुपर्छ। उनीहरूमा केही छैन भनेपछि मात्रै सार्वजनिक सम्पर्कमा जान सक्नेछन्’ –मन्त्री ढकालले भन्नुभयो।

संक्रामक रोगको उपचार ऐन २०२० अनुसार त्यस्ता व्यक्तिलाई छुट्टै राखी उपचार गर्न मन्त्रिपरिषद्को बैठकले आदेश जारी गरेको बताउँदै उहाँले उपचारका लागि ३ अस्पतालमा ४३ वटा बेडको तयारी गरेको जानकारी दिनुभयो। संक्रमण फैलिन नदिन पोखरा चितवन र भैरहवामा हेल्प डेस्क स्थापना गरेको बताउँदै उहाँले रसुवा र तातोपानीलाई सम्भावित जोखिमको ठाउँमा राखिएको प्रष्ट पार्नुभयो।

विभिन्न समयमा हुने संक्रमणका रोगीका लागि उपचार गर्न सरकारले यस्ता बिरामीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले ३ सय शैयासम्मको अस्पताल बनाउने तयारी गरेको बताउँदै मन्त्री ढकालले भन्नुभयो– ‘सरकारले कोरोना भाइरसको जोखिमबाट बच्न गरेको तयारीमा विश्व स्वास्थ्य संठनका पदाधिकारीले पनि सन्तोष व्यक्त गरेका छन्।’ भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको तयारीबारे जानकारी गराएपछि सांसदहरूले सरकारको तयारी चित्तबुझ्दो नभएको भन्दै आलोचना गरेका छन्।

अरू देशले आफ्नो नागरिक फिर्ता लगिसक्दा पनि नेपालले फिर्ता ल्याउन नसकेको र ल्याएर यहाँ राख्ने ठाउँको टुंगो नलगाएको भन्दै सरकारको आलोचना गरेका हुन्। चीनले ६ दिनमा एक हजार बेडको अस्पताल नै बनाएको भन्दै सांसदले नेपालको तयारी अत्यन्तै फितलो रहेकोप्रति असन्तुष्टि जनाए। जवाफमा स्वास्थ्यमन्त्री ढकालले चीनले जति नेपालले तयारी नगरेको स्वीकार गर्नुभयो।

‘सत्य त्यही नै हो, त्यसमा कुनै विमति छैन। चीनमा १७ हजारमा संक्रमण फैलिएको छ, हाम्रामा १३ जनामा आशंका गरेर परीक्षण गर्दा नेगेटिभ देखियो चीन सरकार जसरी नाच्छ त्यही तालमा खु्ट्टा उचाल्नुपर्छ भन्ने कुरामा नेपाल सरकार विश्वास गर्दैन’ –उहाँले भन्नुभयो।

मन्त्री ढकालकाअनुसार नेपालमा अहिलेसम्म एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोराना भाइरस रोगप्रति सावधानी अपनाउनुपर्नेमा जोड दिँदै उहाँले २ देखि १४ दिनसम्ममा संक्रमण हुने भएकाले सावधानी तथा सचेत हुनुपर्नेमा जोड दिनुभयो।

सरकारले स्वास्थ्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति र स्वास्थ्य सचिवको कार्यकारी कमिटी बनाएर काम गरिरहेको छ। नेपालमा अहिलेसम्म थप १३ जनाको कोरोना भाइरसको आशंकामा परीक्षण गरिएको र उनीहरू सबैको नतिजा नेगेटिभ आएको पनि मन्त्री ढकालले जानकारी गराउनुभयो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालसम्म कोरोना भाइरसको संक्रमण भएको बिरामीको संख्या १७ हजार ३ सय ५१ जना रहेको बताएको छ। उनीहरूमध्ये १७ हजार २ सय ३८ जना चीनमा मात्र छन्।