महँगो निर्वाचन पद्धतिले भ्रष्टाचार मौलाएकै हो : प्रधानमन्त्री

अझ सक्रियताका लागि प्रधानमन्त्रीले मिर्गौला फेरेर काम गर्ने

0
Shares

कपिल काफ्ले, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन पद्धति बढी खर्चिलो भएका कारण भ्रष्टाचार बढेकोमा सरकार र आफूसम्बद्ध राजनीतिक दलको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउनुभयो। राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरूसँग मंगलबार साँझ बालुवाटारमा कुराकानी गर्दै उहाँले सो जानकारी गराउनुभएको हो।

‘निर्वाचन पद्धति सस्तो र सहज बनाउने दिशामा हामी के गर्न सक्छौं, सोच्दै छौं तर निर्वाचनका कारण भ्रष्टाचार र अनियमितता बढेको हो भनेर भ्रष्टाचारीलाई सरकारले छुट दिने कुराचाहिँ आउँदैन’, नेपाल समाचारपत्रले उठाएको सबालको जबाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘राज्यकोष मासेर पार्टीकोष बढाउने वा कुनै पनि प्रकारको अनुचित लाभ लिने काम सह्य हुँदैन।’ नेपाल समाचारपत्रले राजनीतिक दल पारदर्शी नहुने, आर्थिक कारोबारको विवरण खुलासा नगर्ने र लेखापरीक्षण पनि नगराउने भएका कारण मुहान नै प्रदूषण भएका कारण भ्रष्टाचार बढेको विचार राखेको थियो।

प्रधानमन्त्री ओलीले सम्पादकहरूलाई पहिला ‘प्रश्न मात्र सोध्ने होइन मन्तव्य राख्न र सुझाव दिन’ आह्वान गरेअनुसार सहभागी केही सम्पादकहरूले आ–आफ्नो धारणा राखेका थिए। सहभागीहरूले सूचना प्रविधि विधेयक, आमसञ्चारसम्बन्धी विधेयक, प्रेस काउन्सिलसम्बन्धी विधेयक अनुदार भएको, परिवर्तनको वाहक राजनीतिक दलले नै नेतृत्व गरेको सरकारबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य हुनु नसुहाउने विषय भएको धारणा जोडदार रूपमा राखेका थिए।

‘तपाईंहरू ढुक्क हुनुस्, यस सरकारले मिडियाको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कटौती गर्दैन, लोकतान्त्रिक अधिकार नहुँदाको पीडा तपाईंहरूलाई भन्दा बढी मलाई छ, यस्तो कार्य ओली सरकारले गर्ला भनेर कल्पनासम्म नगर्नुस्’, प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभयो– ‘तर बाटो हिँड्ने अधिकार सबैलाई छ भन्दैमा अरूलाई धक्का दिएर हिँड्न त पाइएन नि, त्यसैले सभ्य समाजका लागि अनुशासन बनाइन्छ, त्यही काम मात्र हामीबाट भएको हो।’

विधेयकहरू सरोकारवालासँग छलफल नगरी आउने र आएपछि विवादमा पर्ने क्रम क्रमशः बढ्दै गएको भन्दै सम्पादकले राखेको चिन्ताका सम्बन्धमा प्रधानमन्त्री ओलीले परिस्थितिजन्य कमजोरी भएको स्वीकार गर्नुभयो। उहाँले भन्नुभयो– ‘२०७२ मा संविधान आयो, यसलाई लागू गर्न कानुन चाहियो, समयसीमा तोकेर कानुन बनाउन हामी बाध्य छौं, नत्र संविधान लागू हुन सक्तैन, समयको दबाबका कारण चाहेर पनि सरोकारवालासँग छलफल गरेर विधेयक ल्याउन नसकिएको हो, छलफल नै नगर्ने हाम्रो मनसाय होइन।’

अर्को प्रसंगमा बहुविवादास्पद एमसीसी परियोजनाका सम्बन्धमा उहाँले यसै चालू संसद् अधिवेशनबाट यो पारित हुने प्रस्ट पार्दै भन्नुभयो– ‘हामी पहिला सन्धि–सम्झौता गर्छौं र पछि पारित गर्नुपर्ने बेलामा बहस चर्काउँछौं, यस प्रकारका कमजोरीमा सुधार गर्नुपर्छ, म स्वीकार गर्छु, तर एमसीसी मुलुकको हितमा छ, यो पारित हुन्छ।’

प्रधानमन्त्री ओलीले अमेरिकाले एमसीसी इन्डोप्यासिफिकको अंग भएको भनी गरेको टिप्पणीलाई स्वाभाविक भन्दै अमेरिका महाशक्ति राष्ट्र भएको र विश्वमा प्रभाव विस्तार गर्ने अभ्यासमा रहेकाले उसको संयन्त्र विश्वव्यापी रहेको, त्यसभित्र सबै पर्ने तर्क गर्नुभयो। तर उहाँले तर्क गर्नुभयो– ‘हामीले हेर्नुपर्छ, उनीहरूले दिने रकम सैनिक प्रयोजनका लागि खर्च हुन्छ कि आम जनताको हित हुने गरी विकास निर्माणमा ! ’

नेकपाका अध्यक्षसमेत रहेका ओलीले केन्द्रीय समितिको बैठकले पूर्वअध्यक्ष झलनाथ खनालको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय छानबिन समितिले एमसीसीलाई अझ बढी मुलुकको हितमा कसरी लागू गर्ने भन्ने विषयमा केन्द्रित रहेर अध्ययन गर्दै आगामी सात दिनभित्र सुझाव दिने बताउनुभयो।

एमसीसी अर्थात् मिलेनियम च्यालेन्च कर्पोरेसन पाँचवर्षे विकास योजना हो, अमेरिकी सहायतामा सम्पन्न हुने यस योजनाले भारतीय सिमानासम्म विस्तार गरी नेपालमा उत्पादित विद्युत् भारतलाई बेच्ने प्रयोजनका लागि विद्युत् ट्रान्मिसन लाइन विस्तार गर्दछ। गोरखपुरसम्म तानिने ट्रान्समिसन लाइनका लागि सन् २०१२ मा सम्झौता भएको हो।

अअस्वस्थ भनिएका प्रधानमन्त्री ओलीले करिब दुई घण्टाभन्दा लामो बसाइमा खोकेको वा अगाडिको थर्मसबाट पानी पिएको देखिएन। तर पनि भन्नुभयो– ‘अध्यक्ष प्रचण्डले बाँकी तीन वर्ष पनि तपाईं नै प्रधानमन्त्री हुनुहोस् भनिसक्नुभएको छ, म छिट्टै किड्नी फेर्दै छु, नयाँ जोसका साथ काम गर्नेछु, मलाई मुलुकका लागि सेवा गर्नेबाहेक अर्को कुनै स्वार्थ हेर्नुछैन, यति त तपाईंहरूले विश्वास गर्नुहुन्छ भनेर मलाई विश्वास छ।’

‘भर्खर लभ परेको जोडी होइनौं’

प्रधानमन्त्री ओलीले करिब एक घण्टा लामो सम्बोधनमा धेरै पटक हँसाउनुभयो :

  •  भैंसेपाटीमा केही साथीहरू बैठक बस्नुभयो तर म त्यसमा थिइनँ भनेर ओली अल्पमतमा पर्यो भनेर तपाईंहरूले लेख्नुभयो, के हामी भर्खर लभ परेका जोडी हौं र प्रेमीले अर्कालाई भेट्यो भनेर ठुस्किने!
  • तपाईं पत्रकारहरू मेराबारे कति लेख्नुहुन्छ, मैले पनि कहिलेकाहीं पत्रकारसँग मलाई बुझ्ने मुटु छैन कि क्या हो भनेर गुनासो गर्न नपाउने⁄ बलिङ भएपछि अलिअलि ब्याटिङ पनि भइहाल्छ नि!
  •  रिसको झोकमा एक साथीले अर्कोलाई भन्छ– अहिले मार्दिन्छु, हात पनि उठाउला, तर मार्दैन नि ! पत्रकार र मेरो सम्बन्ध त्यस्तै हो।
  •  तपाईंले चाहेजस्तो त परको कुरा मैले चाहेजस्तो छिटो काम पनि गर्न सकिरहेको छैन, कमिटीमा वर्षौंसम्म गाली गर्दै आएका साथीहरू छन्, मभन्दा पहिला पार्टी चलाएका र प्रधानमन्त्री भएका मित्रहरू छन्, अदब पुर्याएर काम गराउनुपर्यो, समय त लागिहाल्छ नि !