न्युज अफ नेपाल, काठमाडौँ ।
नेपालका व्यवस्थापकहरुको छाता संस्थाको रुपमा रहेको नेपाल व्यवस्थापन संघले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । संघले यही माघ २४ गते ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन, बार्षिक साधारण सभा, राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान र एशियाली व्यवस्थापन संघद्धारा आयोजित एशियाली नेतृत्व पुरस्कार साँझ २०२० आयोजना गर्ने भएको मंगलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा संघका प्रथमा उपसभापति बमबहादुर मिश्रले दिनुभएको जानकारी अनुसार यस बर्षको राष्ट्रिय व्यवस्थापन सम्मेलनको मुख्य नारा तथ्यांक परिचालित निर्णय प्रक्रिया रहेको छ । व्यवसायिक शत्रको रुपमा रहने यस सम्मेलनमा चारवटा कार्यपत्रहरु प्रस्तुत गरिने छन र आवश्यक टिप्पणी र सदनको सुझाव सहित पारित गरेर यसको समापन हुनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न हुने यो सम्मेलनमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य २०१९ नामक एक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुनेछ ।
नेपाल व्यवस्थापन संघका सभापति एवम् राष्ट्रिय योजना आयोगका माननीय सदस्य ई. सुशील भट्टको सभापतित्वमा संघको वार्षिक साधारण सभामा संघका महासचिव श्री मोहनराज ओझाले संघको बार्षिक प्रगति विवरण पेश गर्नुहुनेछ भने कोषाध्यक्ष दीलिपराज पौडेलले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । साधारण सभाले आगामी बर्षको लागि नीति,कार्यक्रम र बजेटको तर्जुमा गर्नुको साथै लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ ।
सम्मेलनको तेस्रो सत्रमा राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रम रहने संघले जानकारी दिएको छ । संघले आफूमा निहित ज्ञान, सीप र अनुभवलाई उपयोग गर्दै संस्थाको सर्वोपरि हितमा कार्य गर्ने इमान्दार, कर्तव्यनिष्ट,उच्च नैतिक चरित्रयुक्त कुशल व्यवस्थापकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रिय व्यवस्थापन पुरस्कारले सम्मानित गर्ने परम्परा अन्तरगतः Manager of the Year Award, Women Manger Recognition Award, Outstanding Management Award, Outstanding Civil Service Award वितरण गर्दै आएको छ । पुरस्कारको निमित्त निश्पक्ष ढंगबाट सद्पात्रको चयन गर्न संघले अलग्गै छनोट उपसमिति गठन गरेको थियो । सो उपसमितिले स्वतन्त्र ढंगले चयनको मापदण्ड तयार पारेर उपयुक्त व्यक्ति तथा संस्थाहरु चयन गरेको छ । पुरस्कृत हुनुहुने व्यक्ति तथा संस्थाहरुको नाम सोही दिन घोषणा गरिनेछ । सघको पुरस्कार तथा सम्मान शत्रको प्रमुख आतिथ्यता सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुने भएको छ ।
यस बर्षको साधारण सभाको अवसरमा सघले १९ औं कार्यकारी समितिको निर्वाचनको मतदान कार्यक्रम पनि राखेको छ । संघका उपसभापति मिश्रले निर्वाचनको कार्यतालिका अनुरुपका कामहरु भैरहेको जानकारी दिनुभएको छ ।
नेपाल व्यवस्थापन संघका कार्यकारी निर्देशक यादव प्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार नेपाल व्यवस्थापन संघको राष्ट्रिय व्यवस्थापन सम्मेलन,बार्षिक साधारण सभा र राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रमको अवसरमा एशियाका राष्ट्रिय व्यवस्थापन संघहरुको छाता संगठनको रुपमा रहेको एशियाली व्यवस्थापन संघले एएमएमओ एशियाली नेतृत्व पुरस्कार साँझको आयोजना गरी नेपालसहित यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गर्दैछ । नेपाल व्यवस्थापन संघ एशियाली व्यवस्थापन संघको एक सक्रिय सदस्यको रुपमा रहेको छ ।











प्रतिक्रिया