परम्परागत मान्यता हटाउन एकल महिलालाई रातो पछ्यौरी !


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

पति गुमाएका एकल महिलाले रातो पहिरन लगाउन हुँदैन भन्ने परम्परागत मान्यतालाई तोड्दै स्थानीय सरकारले वडाभरका एकल महिलालाई रातो पछ्यौरी ओढाएर सम्मान गरेको छ । जिल्लास्थित बलेफी गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले सोमबार एक कार्यक्रम गर्दै एकल महिलाहरुलाई रातो पछ्यौरी ओढाउँदै सम्मान मात्र गरेन, परम्परागत मान्यतालाई समेत तोडिदियो ।

बलेफी गाउँपालिकाकी उपाध्यक्ष कमला श्रेष्ठ कायस्थले एकल महिलाहरुलाई एक कार्यक्रमकाबीच रातो पछ्यौरी ओढाउँदै सम्मान गर्नुभयो । बलेफी गाउँपालिका ८ नम्बर वडा कार्यालयको सहयोगमा वडास्तरीय एकल महिला समुहद्धारा आयोजित एकल महिला सम्मान कार्यक्रममा रोतो पछ्यौरीमा सजिँदा एकल महिलाहरुका मुहारमा चमक देखिन्थ्यो ।

सामाजिक डर र बन्धनको कुनै पर्वाह नगरी रातो पछ्यौरीमा सजिएर आपसमा गफिँदैथिए उनीहरु ।‘सरकारले नै रातो ओढाइदिएपछि समाजको के डर भो र ?’, बलेफी ८ की एकल महिला खिमादेवी चालिसेले भनिन्, ‘सम्मान गर्नुभयो, हामी एक्लो रहेनछौं भन्ने लाग्यो ।’

वडाभरका ३६ जना एकल महिलालाई रातो पछ्यौरी ओढाएर सम्मान सँगै उनीहरुमध्ये दश जनालाई जीविकोपार्जनमा समेत सघाउ गरिएको छ । दश जना एकल महिलालाई जीविकोपार्जनमा सघाउ गर्ने उदेस्यले उनीहरुलाई उन्नत जातका बाख्रा समेत प्रदान गरिएको छ ।

गतवर्ष जस्तै यसबर्षपनि एकल महिलालाई उन्नत जातका बाख्रा प्रदान गरिएको बलेफी ८ का वडाध्यक्ष चरिबहादुर तामाङले बताउनुभयो । ‘परम्परागत मान्यतालाई तोड्दै पति गुमाएका एकल महिलालाई रातो पछ्यौरीले सम्मान गरेका छौं’, वडाध्यक्ष तामाङले भन्नुभयो, ‘एकल महिलाका लागि सामाजिक बन्धन केहि खुकुलो बनाउने प्रयास गरेका हौं ।’