पर्वत महोत्सवमा ६ करोडको कारोबार


न्युज अफ नेपाल, पर्वत ।

पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको छैटौं पर्वत महोत्सवमा ६ करोड भन्दा बढीको कारोबार भएको छ । माघ ९ देखि ११ दिन चलेको महोत्सवमा ६ करोड भन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको हो। महोत्सवमा दुई लाख दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको छ ।

महोत्सवमा स्टलहरु र रमाइलो मेलामा गरी ६ करोड बढीको कारोबार भएको आर्थिक संयोजक गोपी अधिकारीले बताउनुभयो । ‘बिगतका महोत्सवको तुलनामा आर्थिक कारोबार र दर्शकको संख्या उल्लेख्य रुपमा बढेको छ ।’ -उहाँले भन्नुभयो ।

स्थानीय ब्यबसायी तथा महिला उद्यमी र कृषि उत्पादनहरुलाई स्टल राख्न प्राथमिकता दिएका कारण महोत्सव सफल हुन सकेको भनाई आयोजकको छ । महिला उद्यमी र कृषि उत्पादनका लागि ३० स्टल निशुल्क उपलब्ध गराइएको थियो भने स्थानिय ब्यबसायीलाई स्टलमा २५ प्रतिशत छुट दिइएको थियो ।

महोत्सव समापन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले देशको आर्थिक समृद्धि र विकासका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने बताउनुभयो । उद्यमको बिकासलेनै देशले आर्थिक समृद्धि हासिल गर्ने शेरचनको भनाई छ ।

नेपाल सरकारले मनाईरहेको नेपाल भ्रमण वर्ष र प्रदेश सरकारले मनाईरहेको आन्तरिक भ्रमण वर्षलाई सफल बनाउन आफ्नो क्षेत्रमा रहेको पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न पनि उहाँले स्थानीयलाई आग्रह गर्नुभयो । शेरचनले लामो बलिदान र संघर्षपछि मुलुकले स्थायी सरकार पाएको बताउँदै यहि सरकारको पालामा मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताउनुभयो ।