व्यक्तिको बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि ध्यानाकर्षण


न्युज अफ नेपाल, हेटौंडा ।

प्रहरीले आफूले प्राप्त अधिकार दुरुपयोग गरी कब्जामा लिएर सिन्धुपाल्चोकको जुगल–३ का २८ वर्षीय विष्णु तामाङलाई गोली प्रहार गरेको भन्दै मानव अधिकारबादी संघसंस्थाले राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएका छन् ।

सोमबार आयोगको कार्यालय पुल्चोकमा आयुक्त गोबिन्द शर्मापौडेललाई स्थलगत अनुगमन प्रतिवेदनसहित ज्ञापनपत्र बुझाउँदै उनीहरुले प्रहरी आवश्यकभन्दा बढी बल प्रयोग गरेको भन्दै नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चितता माग गरे ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) र एड्भोकेसी फोरमले संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै अपराधमा संलग्न व्यक्ति नै भए पनि कानुनी दायरामा ल्याएर कारबाही गर्ने बाटो हुँदाहुँदै गोली प्रहार गर्नु व्यक्ति हत्याको क्रम कायम राख्ने नियत देखिएको ज्ञापनपत्रमा उल्लेख छ ।

‘अनुगमनका क्रममा पीडित, पीडितका आफन्त, प्रत्यक्षदर्शी, सरोकारवाला प्रहरी र घटनाक्रमले प्रहरीले आवश्यकभन्दा बढी बल प्रयोग गरी नियन्त्रणमा लिएका व्यक्तिलाई गोली प्रहार गरेको पाइएको हुँदा उक्त घटनामा प्रहरीको गम्भीर लापरबाही र व्यक्ति हत्याको क्रमलाई कायम राख्ने नियत देखिएकोले गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ–आयोगले प्रहरीको ज्यादति र व्यक्तिको बाँच्न पाउने संविधानले प्रदत्त गरेको अधिकार सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराओस् भन्ने हाम्रो माग रहेकोले यो ज्ञापनपत्र बुझाएका छौं ।

इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले घटनाको स्थलगत अनुगमनका क्रममा पुस २७ गते करिब साढे ३ बजे खाजा खाइरहेको बेला ५ जना सिभिलमा आएका प्रहरीले तामाङलाई पक्राउ गरेको र दुई घण्टा भन्दा बढी गोकर्णतर्फ ट्याक्सीमा लगेर घुमाउँदै ६ बजेतिर काठमाडौं महानगरपालिका–७, नारायणटारको जम्मुडाँडा भन्ने ठाउँमा गोली प्रहार गरेको बताइएको जानकारी दिनुभयो ।

उहाँले प्रहरीले दण्डहीनतालाई प्रश्रय दिने गरी फेक इन्काउन्टरको प्रयास गरेको बताउनुभयो । संयोजक गौतमले अनुगमन टोलीले पीडित, पीडितका आफन्त, प्रत्यक्षदर्शी, ट्रमा सेन्टरका चिकित्सक र प्रहरीसँग प्रत्यक्षरुपमा अलग भेटी घटनाबारे जानकारी लिएर प्रतिवेदन तयार गरेको बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै आयोग सदस्य शर्माले घटना छानबिन गरी संलग्नमाथि कारबाही गर्न आयोगले तत्काल प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । ज्ञापनपत्र इन्सेक बागमती प्रदेश संयोजक गौतम र एड्भोकेसी फोरम निर्देशक ओमप्रकाश सेनले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो । ज्ञापनपत्र बुझाउने क्रममा पीडितका परिवारको समेत सहभागिता थियो ।

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका काले भनिने तामाङलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीको दाबी छ । प्रहरीको गोली लागेर घाइते भएका तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टामा गोली लागेको थियो । तामाङ टोखामा रहेको विशेष सूचना पाएपछि पक्रन प्रहरी त्यसतर्फ गएको थियो ।

नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेकोले आत्मरक्षाका लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङ ६ वर्ष कैद सजाय भुक्तान गरेर निस्किएको प्रहरीको भनाइ छ । कैद सजाय भुक्तान गरेर निस्किए पनि उनी पुनः आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले बताएको छ ।