मेसिनरी वाल ठडिएपछि माझीगाउँमा खुसीयाली


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

नदी कटानबाट बस्ती संरक्षणका लागी पर्खाल लगाइएपछि सुनकोसी गाउँपालिका–७ स्थित सुनकोसी नदी किनारको माझिगाउँमा यतिबेला खुसी छाएको छ । वर्षौंदेखि बस्ती संरक्षणको पर्खाईमा रहेका माझीगाउँको संरक्षणका लागी प्रदेश सरकारले झण्डै एक सय मीटर लामो पर्खाल उठाइदिएपछि स्थानीयले सुरक्षित महशुस गर्न थालेका छन् ।

प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति एवम प्रदेश सांसद सरेश नेपालको पहलमा प्रदेश सरकारले माझीगाउँको बस्ती संरक्षणका लागि ९३ मीटर मेसिनरी वाल लगाइदिएको हो । नदी किनारमा मेसिनरी वाल लगाइएपछि माझी समुदायको वर्षौदेखिको बस्ती संरक्षणको सपना साकार भएको छ ।‘बस्ती संरक्षणका लागि धेरै ठाउँमा माग लिएर गयौँ, बल्ल हाम्रो सपना साकार भयो’, माझीगाउँका स्थानीय केशव माझी भन्दै थिए ।

प्रदेश सरकारको ५० लाख रकमबाट यसवर्ष माझीगाउँको संरक्षणका लागि ३.५ मीटर अग्लो वाल उठाइएको छ । स्थानीय अम्मरबहादुर माझीको नेतृत्वमा उपभोक्ता समिति गठन गरि सोही समितिमार्फत बस्ती संरक्षणका लागि वाल उठाइएको हो । ‘बस्ती संरक्षणका लागि धेरैतिर हात थाप्दै गयौँ तर कतैबाट भरथेग भएन’, उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुरले सुनाए, ‘प्रदेश सरकारबाट दुई पटक गरि ५० लाख बजेट आयो, अनि वाल उठाएर बस्ती संरक्षण गर्न सक्यौँ ।’
मुलुकमा पटक पटक चुनाव भए ।

हर चुनावमा गाउँ आउने उम्मेदवारहरुलाई माझीगाउँबासीले बस्ती संरक्षणको एउटै माग राख्दै आएका थिए । दल र नेताबाट आश्वासन मात्रै पाउँदै आएका उनीहरुले प्रदेशसभा निर्वाचनको दुई वर्षकाबीच उनीहरु बस्ती संरक्षणका पर्खाल उठाउन सफल भए । माझीगाउँको बस्ती संरक्षणका लागि गतसाल प्रदेश सरकारबाट रकमान्तर गरेरै ५० लाख बजेट विनियोजन गरिएको प्रदेश सांसद सरेश नेपालले बताउनुभयो । यसवर्ष रातो किताबमै समावेश गरी माझीगाउँ बस्ती संरक्षणका लागि ५० लाख बजेट विनियोजन भएको थियो । ‘हर चुनावमा माझीगाउँमा पुग्दा बस्ती संरक्षणकै माग सुनिन्थ्यो, प्रदेश सरकारसँग समन्वय गरि माझीगाउँलाई संरक्षण गर्न सफल भएका छौं’, सांसद नेपालले सुनाउनुभयो ।