भिमसम्शेरको लालमोहोरमा पनि वालुवाटारभित्र तिकिंछा गुठी रहेको प्रमाण


न्युज अफ नेपाल, काठमाडौँ ।

बालुवाटार जग्गा प्रकरणमा तिकिंछा गुठीको चर्चा धेरै भएको छ । गुठी संस्थानले १९६६ को लगत भिडाएर गुठी जग्गा दर्ता सहमतिको लागि पठाएको टिकिंछा गुठीको जग्गा १९८८ को लालमोहोरमा पनि देखिएको छ ।

तत्कालिन श्री ३ भीम शम्सेरले १९६६ को लगतमै उल्लेख भएको गुठीको जग्गा खरिद गरेको देखिएपछि बालुवाटार भित्र गुठीको जग्गा रहेको पाइएको हो । १९६६ को लगतमा वालुवाटारमा तिकिंछा गुठीको ५ रोपनी जग्गा र कुत धान ६ मुरी ६ पाथि तथा नगदी १ रुपैया ११ पैशा उल्लेख छ । यसमा असैगल खेतको मोहि जितमान श्रेष्ठ उल्लेख छ ।

१९८८ सालको लालमोहरमा पनि श्री ५ को सरकार तर्फ टिकिंछा गुठीमा दर्ता भयाको असयगाल ५ रोपनीको हाल मोही जितमान श्रेष्ठको छोरा जुक्तमान श्रेष्ठ उल्लेख छ । यसमा पनि कुत ६ मुरी ६ पाथि उल्लेख छ । गुठी संस्थानले गुठीको जग्गा आफ्नो नाममा दर्ता गराएन भन्ने बारे उच्च अदालतमा मेनुका भट्टराईले पेश गरेको फाइलमा पनि १९८८ को लालमोहोरको डकुमेन्ट सामेल गरिएको छ ।

उक्त रिट निवेदन उपर उच्च अदालतबाट गुठी संस्थानको नाममा परमादेशको आदेश पनि जारी भएको छ । १९८८ को लालमोहोरमा भिमसम्शेरले अन्य गुठीको जग्गा पनि किनेको देखिन्छ । यो लालमोहोरमा भिमसम्शेरले कयाम्प खडा गर्न टिकिंछा गुठी बाहेका वालुवाटार भित्र जैवागेश्वरी गुठीको ७ रोपनी ४ आना ३ पैशा ३ दाम, श्री ५ को सरकार तर्फ गुठीको १६ रोपनी २ पैशा २ दाम र श्री ३ सरकार तर्फ गुठीको १ रोपनी १२ आना किनेको देखिएको छ ।

बालुवाटार जग्गा प्रकरणमा ठुला माछालाई जोगाउने र साना माछालाई समात्ने प्रपञ्च भैरहेको भनि सर्वत्र चर्चा भैरहेको बेला सिआईबि र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।