चिवतनमा एसपी गुरुङ, पन्तलाई पर्सामा सरुवा


न्युज अफ नेपाल, काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय चिवतनमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नातीराज गुरुङलाई पठाएको छ । चितवनमा सरुवा गरिएकी एसपी गंगा पन्त राजनीतिक दबाबका कारण चितवन जान नसकेपछि विकल्पमा नयाँ एसपी गुरुङलाई पठाईएको हो ।

पन्तलाई चितवन पठाउन नसकेपछि प्रहरी हेडक्वार्टरले उनलाई पर्साको जिम्मेवारी दिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । पर्सामा रहेका हालका एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं प्रहरी परिसर, टेकुमा ल्याइएको छ ।

पन्तले प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सम्बन्धी स्टाटसमा उनले फेसबुकमा ‘रिप’ लेखेको विषयलाई लिएर पन्तलाई चितवनमा जानबाट रोक लगाइएको प्रहरी अधिकृतहरु बताउँछन् ।

फेसबुकमा लेखेको कमेन्टका कारण विवादमा आए पनि उनी प्रहरीभित्र व्यवसायिक अधिकृतका रुपमा परिचित मानिन्छिन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले ४ पुसमा २५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा सूची सार्वजनिक गरेको थियो, जसमा चितवनका तत्कालीन एसपी दानबहादुर मल्ललाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा गरीएको थियो भने चिवतनमा पन्त सरुवा गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चिवतन एक महिनादेखि नेतृत्वविहीन बनेको थियो ।