जारी लिगमा मनाङको पहिलो हार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

जारी शहीद स्मारक ए डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबले पहिलो हार बेहोरेको छ।सोमबार एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई च्यासल युवा क्लबले २–० गोलअन्तरले हराएको हो। योसँगैं मनाङको जारी लिगमा अपराजेय यात्रासमेत समाप्त भयो। टोलीले लगातार नवौं चरणका खेलसम्म कुनै पनि खेल गुमाएको थिएन।

१०औं चरणको खेलमा पराजित भएसँगै टोलीका लागि उपाधि जित्ने लक्ष्यमा पनि धक्का लाग्ने सम्भावना बढेको छ। मनाङ १० खेलमा १९ अंक जोडेर तेस्रो स्थानमै अडकिएको छ। टोली शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबभन्दा ४ अंकले र मछिन्द्र क्लबभन्दा ३ अंकले पछाडि रहेको छ। उता च्यासलले तेस्रो जित हात पार्दै १२ अंक जोडेर नवौं स्थान हासिल गरेको छ।

च्यासललाई महत्वपूर्ण जित दिलाउन जापानी खेलाडी टाइगा नाकामुराले पहिलो हाफमा र सन्तोष साहुखलले दोस्रो हाफमा एक–एक गोल गरेका हुन्। नाकामुराले खेलको २४औं मिनेटमा गरेको फ्रिकिक प्रहारलाई गोलमा परिणत गरे।

उनको यो जारी लिगमा पहिलो गोल पनि हो। यस्तै दोस्रो हाफमा ४ मिनेट थपिएकोमा अन्तिम मिनेटमै सन्तोषले गोल गरेका हुन्। उनले नाकामुराकै पासमा गोल गरे। योसँगैं सन्तोषले जारी लिगमा व्यक्तिगत सात गोल गरेका छन्। गोल गर्ने सूचीमा उनी शीर्ष स्थानमा कायमै छन्।

खेलमा च्यासलले शुरुमै अग्रता लिन चुकेको थियो। खेलको तेस्रो मिनेटमा अमीर श्रेष्ठले डिबक्सबाट गरेको प्रहार गोल हुन सकेन। मनाङका लागि पनि बराबरी गर्ने मौका आएको थियो।

२६औं मिनेटमा अन्जन विष्टले डिबक्समा पाएको बललाई गोलमा परिणत गर्न अक्षम भएका थिए। त्यसको १० मिनेटपछि क्लोज रेन्जमा गरेको उनको प्रहार खेर गएको थियो।

यसअघि भएको खेलमा प्रभु जावलाखेल युवा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० गोलअन्तरले हरायो। टोलीको जितमा सुजीत बुढाथोकीले निर्णायक गोल गरेका थिए। सुजीतले बीबीसीका गोलरक्षक विशाल सुनारले राम्ररी बल नियन्त्रणमा लिन नसकेपछि त्यसको फाइदा उठाउँदै गोल गरेका थिए। यो जितसँगैं जावलाखेल १५ अंकसहित छैटौ स्थानमा रह्यो भने हार बाबजुद बीबीसी ११औं स्थानमै यथावत छ। बीबीसीको ८ अंक रहेको छ।

तस्वीर : उजोल डंगोल