भागदौड मच्चिँदा बीसको मृत्यु

0
Shares

मोसी,(एजेन्सी)।

तान्जानियामा खुल्ला चउरमा आयोजित एक धार्मिक कार्यक्रमको दौरान अचानक भागदौड मच्चिँदा कम्तीमा २० जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ। शनिवार साँझ उत्तरी मोसी शहरस्थित खेलकुद रंगशालामा भक्तजनहरु पेन्टेकोस्टल सर्भिस नामक कार्यक्रममा सम्मिलित भइरहेको वेला यो दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

मोसी जिल्ला प्रमुख किप्पी वारिओवाले तिनीहरु आशीर्वादसहितको तेल दल्नका लागि अघि बढेको जानकारी दिएका छन्। तान्जानियाका राष्ट्रपतिले यस घटनाममा ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दै आइन्दा यस्ता ठूला कार्यक्रम आयोजना गर्दा राम्रो सुरक्षा व्यवस्था गर्न निर्देशन दिएका छन्।

यो कार्यक्रम आफूलाई देवदूत नै भन्ने पास्टर बोनिफेस म्वाम्पोसाले आयोजना गरेका हुन्। दुर्घटनामा ज्यान जोगाउन सफल व्यक्तिहरुले त्यहाँ एकत्रित सयौं व्यक्तिलाई म्वाम्पोसाले दैवी शक्ति प्राप्त तेल पोखिएको जमिनमा जान आह्वान गरेको प्रहरीलाई बयानमा बताएका छन्।

आफ्ना रोग निको हुने आशा र विश्वासमा भक्तजनहरु तँछाड मछाड गर्दै तेल भएको स्थानतर्फ अघि बढ्न खोज्दा यो दुःखान्त घटना घटेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। प्रहरीले अनुसन्धानको क्रममा म्वाम्पोसालाई गिरफ्तार गरेको छ।

थुप्रै घाइतेलाई अस्पताल र क्लिनिकहरु लगिएकाले मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन्। पिटर किलेवो नामक एक प्रत्यक्षदर्शीले मानिसहरु मानौं डलर बर्सेकै टिप्न खोजेजस्तै गरी दौडेको बताएका छन्।