कोरोना भाइरसको सन्त्रास : १० दिनमा एक हजार बेडको विशाल अस्पताल तयार

0
Shares

वुहान (एजेन्सी)।

नोवल कोरोना भाइरसको महामारीसँग लडिरहेको चीनले १० दिन भित्रै १ हजार बेडको अस्पताल तयार गरेको छ। कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुवेई प्रान्तको वुहान शहरस्थित उक्त अस्पतालमा सेनाका १ हजार ४ सय डाक्टरको एक टोली पनि सोमबार परिचालन गरिएको छ।

चिकित्सकहरु भाइरस संक्रमितहरुको उपचार शुरू गरिसकेका छन्। चीनमा हालसम्म यो भाइरसबाट मर्नेको संख्या ३ सय ८० पुगेको छ भने संक्रमित बिरामीको संख्या १४ हजार नाघेको छ।

कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि उक्त अस्पतालको निर्माण जनवरी २३ मा शुरू भएको हो। फेब्रुअरी २ मा अस्पतालको निर्माण कार्य पुरा भयो। अस्पतालको निर्माणको अभिभारा चीनको सेनाले आफनो हातमा लिएको थियो। यसको सन्चालनको जिम्मा पनि सेनाले नै सम्हाल्ने छ।

यति कम समयमा विशाल अस्पतालको निर्माणका लागि चीनले प्रशस्त उपकरण परिचालन गरेको थियो। निर्माण क्रममा प्रयोग भएका उपकरणहरुको तस्वीर इन्टरनेटमा ब्यापक हेरिएको थियो।

२५ हजार वर्ग मिटर क्षेत्रफलमा तयार भएको उक्त अस्पतालमा सोमबारबाट उपचार शुरू भएको छ। चीनको सरकारी अखबार पिपुल्स डेली चाइनाले यो सम्पूर्ण परियोजनाको एक टाइम ल्याप्स भिडियोमा सेयर गरेको छ। २ मिनेटको यस भिडियोमा कसरी जनवरी २३ बाट फेब्रुअरी २ बीच यो प्रोजेक्ट पुरा भयो भन्ने हेर्न सकिन्छ।

चीनमा कोरोना भाइरसको ब्यापक सन्त्रास छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले यसलाई अन्तराष्ट्रिय आपतकालीन स्थितिको घोषणा गरिसकेको छ। गत हप्ता वुहानमा हिँडिरहेको एक व्यक्तिको बाटामै मृत्यु भएको घटनाले यसको भयावह अवस्थालाई दर्साएको छ।

ती व्यक्ति अस्पताल नपुग्दै केही दूरीमा लडेको र तत्काल मृत्यु भएको थियो। वुहानबाटै कोरोना भाइरस फेलिएको हो। अहिलेसम्म विश्वका १८ देशमा कोरोना भाइरस संक्रमित रोगी फेला परिसकेको छ।

अमेरिकालगायत विश्वका धेरैजसो देशले चीनमा रहेका आफ्ना नागरिकलाई एयरलिफ्ट गरिरहेका छन्। अमेरिकामा ८ जनामा यो भाइरसको संक्रमण देखिसकेको छ। भारतको केरल राज्यमा चीनबाट फर्केका दुई जनामा भाइरस संक्रमण पुष्टि भइसकेको छ।

भारतको विदेश मन्त्रालयले एयर इन्डियाको सहयोगमा चीनको वुहानमा फसेका भारतीयलाई निकाल्ने अभियान चलाएको छ। जनवरी ३१ देखि फेब्ुअरी २ को बीचमा दिल्लीबाट दुईवटा उडान वुहान प्रस्थान गरिसकेका छन्।

यसबीच पाकिस्तानले चीनमा फेसका आफना नागरिकलाई निकाल्न कुनै अभियान नचलाउने प्रष्ट पारेको छ। विपत्तिको यस घडीमा आफू चीनको पक्षमा रहेको बताउँदै चीनले यस संकटमाथि विजय पाउने आशा ब्यक्त गरेको छ। नागरिकता फर्काएर चीनलाई अपमान गर्न नसक्ने पाकिस्तानी विदेशमन्त्रालयले जनाएको थियो।