न्यायिक समितिको अवलोकन


काठमाडौं, (नेस)।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले सोमबार ललितपुर महानगरपालिकाको न्यायिक समितिको भ्रमण गरेको छ। न्यायिक समितिमा आइरहेका मुद्दाका प्रकृति, मुद्दा सुनुवाइको अवस्थालगायतका विषयमा बुझ्न समिति महानगर पुगेको हो।

समितिका सभापति तारादेवी भट्टलगायतका सदस्यहरूले महानगरपालिकाका कर्मचारीलगायतसँग मुद्दाका विषयमा जानकारी लिनुभएको थियो। उहाँहरूले समितिमै बसेर मुद्दाको सुनुवाइसमेत हेर्नुभयो। समितिका सभापति भट्टले न्यायिक समितिमा रहेका चुनौतीका विषयमा जानकारी लिइएको जानकारी दिनुभयो।

न्यायिक समितिमा खासगरी सहकारी क्षेत्रका मुद्दा आउने गरेको पाइएको उहाँले बताउनुभयो। समितिले आगामी दिनमा अरु पालिकामा समेत पुगेर त्यहाँको कामकारवाहीका बारेमा जानकारी लिने योजना रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले वार्षिक कार्ययोजनामा नै विभिन्न पालिकामा पुग्ने योजना बनाएका छौँ।’

समितिको उद्देश्य सरकारलाई सहयोग गर्नुभएकाले तीनै तहका सरकारको काम कारवाही हेरेर आवश्यक सल्लाह सुझाव दिने गरिएको सभापति भट्टले बताउनुभयो। समितिको कार्यक्षेत्र सबै मन्त्रालय र तीन तहको सरकार भएकाले उनीहरूसँग नजिक रहेर काम गरिरहेको उहाँको भनाइ थियो।

सुशासन र दिगो विकास सरकारकै लक्ष्य भएकाले समितिले पनि त्यसमा सघाउन लागिपरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले आवश्यक पर्दा उहाँहरूलाई बोलाएरै पनि छलफल गरिरहेका छौँ।’