अपहरण गरी फिरौती माग्नेलाई पाँच दिन थुनामा राख्न आदेश


भक्तपुर, (नेस)।

बालिका अपहरण गरी १६ लाख फिरौती माग्नेलाई ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। भक्तपुरबाट आइतबार बालिका अपहरण गरेको अभियोगमा पक्राउ परेका सर्लाहीको लालबन्दी–५ घर भई बोडेमा बस्दै आएका आशिष थापालाई जिल्ला अदालत भक्तपुरले सोमबार थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न म्याद थप गरेको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले थापालाई सोमबार अदालत पेश गरेकोमा अदालतको आदेशबमोजिम थुनामा राखी घटनाका बारेमा थप अनुसन्धान अघि बढाउने बताउनुभयो। थापालाई मोटरसाइकल दिने आशिष भण्डारीलाई आइतबार साँझ नियन्त्रण लिएको भए पनि संलग्नता पुष्टी हुने आधार नभेटिएको भन्दै सोमबार छाडिएको प्रहरीले जनाएको छ।

थापाले अझै किन भतिजी नाता पर्ने बालिकाको अपहरण गरे खुल्न सकेको छैन। अपहरणमा परेकी छ वर्षीया बालिका आइतबार अपहरण मुक्त भएकी थिइन्। भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा अध्ययनरत ६ वर्षीया बालिका अपहरणमा परेकी हुन्।

अपहरणमा संलग्नलाई प्रहरीले पाँच घण्टाभित्रै पक्राउ गरेको थियो।बालिकालाई दिउँसो निकोसेराबाट बा९६प १६२० नं. को मोटरसाइकलमा हालेर लगेको बताइएको छ। विद्यार्थीको आफन्तका रुपमा परिचय दिँदै स्कुलभित्र छिरेका थापाले बालिकालाई उनका बुबाले पठाएको भनेपछि विद्यालयले ‘अभिभावक कार्ड’ बिनै सुनितालाई थापाको जिम्मा लगाएको प्रहरीको भनाइ छ।

अपरान्ह दुई बजे घटनाको जानकारी पाउँने बित्तिकै महानगरीय प्रहरी बृत्त थिमि र महानगरीय प्रहरी अपराध महाशाखाको टोली परिचालन गरिएको थियो। त्यसै क्रममा साँझ अपहरणमा संलग्नलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, अपहरण गरेर बालिकालाई सूर्यविनायक नगरपालिकाको घ्याम्पेडाँडामा हात खुट्टा बाँधेर राखेपछि बालिका रुन थालेपछि नजिकै रहेकाहरूले थाहा पाउने डरले अपहरणकारी भागेको अनुसन्धानबाट खुलेको छ। जंगलमा अलपत्र अवस्थामा भेटेपछि सर्वसाधारणले बालिकालाई स्कुलसम्म फिर्ता ल्याइएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ।

अपहरणपछि अपहरणकारीले १६ लाख रुपियाँ माग गरेकोमा सोही रकम लिन भनेर राधेराधेस्थित भाटभटेनीमा बोलाएर पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।