विश्वविद्यालयमा व्यावहारिक र व्यावसायिक शिक्षामा जोड


नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले विश्वविद्यालयस्तरमा शिक्षाको गुणस्तर खस्कँदो अवस्थामा रहेकाले सरकारले व्यवहारिक र जीवनउपयोगी शिक्षाको विकासमा प्राथमिकता दिनुपर्र्ने बताउनुभयो।

सांसद थापाले बहुचर्चित एमसीसीको विषयमा नपढीकन र नबुझिकन बोल्ने संस्कृतिले गर्दा पनि समस्या झन् जटिल बनेको बताउनुभएको छ। पशुपति बहुमुखी क्याम्पसको ४०आंै वार्षिकोत्सवको अवसरमा नेता थापाले नेपाली समाजमा पठनपाठनको संस्कृतिमा कमी भएकाले एमसीसीजस्तो विषयमा समाज झन् बढी अन्यौल र अस्पष्टता रहेको बताउनुभयो।

सो अवसरमा प्रदेश सांसद नरोत्तम वैद्य र कुसुम कार्कीले प्रदेश तहमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई स्थानीय सरकारले विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता भएको उल्लेख गर्दै स्थानीय तहका शिक्षालयको गुणस्तरलाई माथि उठाउनुपर्ने अवस्था रहेको बताउनुभयो। शिक्षाका नीति निर्माताहरूले मुलुकको सामुदायिक शिक्षण संस्थाहरूको पठनपाठन र गुणस्तरको विकासमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले गुणस्तरीय र व्यवसायिक तथा सिपमूलक शिक्षाको विकासमा जोड दिनुभयो।अनेरास्ववियु अखिलका केन्द्रीय सदस्य इन्द्र भुषालले सामुदायिक शिक्षण संस्थाहरूको गुणस्तर र प्राज्ञिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुुभयो।

पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक प्रयागराज भट्टराईले क्याम्पसले विश्वविद्यालय स्थापनाको योजना बोकेर अघि बढेको चर्चा गदै त्यसका लागि प्राज्ञिक र भौतिक पूर्वाधारको तयारी भइरहेको बताउनुभयो।

क्याम्पस व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद त्रिपाठीको अध्यक्षता भएको सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका शिक्षाविद्, नीति निर्माताहरूले शैक्षिक विकासको विषयमा चर्चा गर्नुभएको थियो।

सो अवसरमा क्याम्पसमा लामो समय कार्यरत प्राध्यापक, कर्मचारी, उत्कृष्ट छात्रछात्रा तथा पदाधिकारीहरूलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।