आगलागी नियन्त्रणबारे चेतनामूलक प्रदर्शनी

0
Shares

ललितपुर, (नेस) ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक प्रदर्शनी ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा सोमबार सम्पन्न भएको छ। प्रहरी प्रधानकार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुसी तथा महानगरीय प्रहरी प्रभाग पुल्चोक ललितपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

सो अवसरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी स्थलगत अभ्यासद्वारा अग्निशामक यन्त्रको प्रयोग, विभिन्न विधिबाट ज्वलनशील तरल पदार्थमा हुने आगलागी, शरीरमा हुने आगलागी, एलपीजी ग्यासबाट हुने आगलागी र विद्युत सर्टबाट हुने आगलागी नियन्त्रण सम्बन्धी फायर सेफ्टी डेमोन्स्ट्रेसन र घाइतेलाई ओसारपसार गर्ने तरिकासमेत प्रदर्शन गरिएको थियो।

उक्त विद्यालयका प्रधानाध्यापक फादर जर्ज पीएमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी अधिकृतहरू, सोही विद्यालयका शिक्षक र विद्यार्थीहरू, स्वीडेन सरकार न्याय मन्त्रालयबाट नेपाललगायत एसियाली मुलुकहरूमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धिकरण परियोजनाका प्रतिनिधिलगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।