कर्णालीमा जान पेसागत अगुवा एकमत

0
Shares

नेपाल समाचारपत्र, बाँके।

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने सवालमा बाँकेका पेसागत संघसंगठनका अगुवाले सहमति जनाएका छन्।नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा भएको छलफलमा विभिन्न पेसागत संघसंगठनका अगुवाले कर्णाली प्रदेशमा जाँदा नै बाँके र बर्दियाको समृद्धि हुने बताए। प्राध्यापक संघ, प्याब्सन, विद्यार्थी संगठनहरु, होटल अर्गनाइजेसन, यातायात समितिका अगुवाले बाँके र बर्दियालाई कर्णालीमा मिसाउनुपर्नेमा जोड दिए।

उनीहरु सबैले ५ नम्बर प्रदेशको पुच्छरमा बसेर चौथो, पाँचौ हुनुभन्दा कर्णाली प्रदेशमा मिसिएर एक नम्बरको शहर हुन उत्तम हुने बताए। विगतमा मध्यपश्चिम क्षेत्र हुँदा बाँके र बर्दियाको साइनो कर्णालीसँग नै रहेकाले सबै हिसाबले कर्णालीमा जादा बाँके र बर्दियालाई फाइदा हुने सहभागीहरुको जोड थियो।

प्राध्यापक संघका अध्यक्ष लालमणि आचार्य, प्याब्सनका अध्यक्ष राजेन्द्र आचार्य, नेपाल शिक्षक संघका अध्यक्ष वीरेन्द्र यादव, नेविसंघका अध्यक्ष पूर्णप्रसाद आचार्य, अनेरास्ववियुका सहसंयोजक टेकेन्द्र मल्ल, नेपाल यातायात राष्ट्रिय महासंघका टंक बस्याल, भेरी यातायातका प्रमोद धिताल, होटल अर्गनाइजेशनका टेकनारायण सापकोटा, तरुण दलका विनोद रिजाल, चिकित्सक संघका डा. विनोद कर्ण, उपप्राध्यापक रविन्द्र कर्णलगायतले बाँके र बर्दियालाई कर्णालीमा जादा नै फाइदा हुने विचार राखे। उनीहरुले बाँके र बर्दियालाई कर्णालीमा मिसाउने जुनसुकै आन्दोलनमा साथ रहने प्रतिबद्धता गरेका थिए। सबैले राजनीतिक दललाई अगाडि सार्नुपर्ने कुरा छुटाएनन्।

नेपालगन्जका मेयर डा. धवलशमशेर राणाले राजनीतिक फाइदा भन्दा पनि बाँके र बर्दियाको विकासका लागि कर्णालीमा मिसिन जरुरी रहेको बताउनुभयो। उहाँले राजनीतिक दल र नेताहरुको मुख ताक्नुभन्दा पनि जनतालाई जागरुक बनाएर अघि बढ्नुपर्ने बताउनुभयो।

‘हामीले कसैको मुख ताक्ने होइन, जनतालाई फाइदाका कुरा बताएर आन्दोलनको वातावरण बनाउने हो, नेपालगन्जका मेयर डा. राणाले भन्नुभयो, जनता स्वस्फूर्त रूपमा सडक आए भने दल र नेताहरु आफै आउँछन्।’ उहाँले यतिबेला पार्टीको ह्वीप मान्ने होइन, बाँके र बर्दियाको भविष्य हेर्ने हो भन्नुभयो।

कर्णालीमा जाने आन्दोलन खाली पायक पर्ने ठाउँमा राजधानी ल्याउनका लागि हो कि भन्ने धेरैको जिज्ञासा रहेकोमा नेपालगन्जका मेयर डा. राणाले राजधानीको कुरा नै छोडिसकेको बताउनुभयो। ‘राजधानी र नामका लागि जनमत संकलन गर्न बनेको समितिले नै नेपालगन्जलाई राजधानीको दौडबाट हटाइसकेपछि अब हामीले नेपालगन्जलाई राजधानी हुनुपर्छ भनेर औचित्य छैन, मेयर राणाले भन्नुभयो, अब हामी राजधानीको लागि होइन।

कर्णालीमा मिसिनका लागि आन्दोलनको माहौल बनाइरहेका छौं। यसमा कुनै द्विविधामा नपरे हुन्छ।’ नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कर्णालीमा मिसाउने आन्दोलन नै शुरू भइनसकेको बताउनुभयो। ‘अहिले जागरण अभियान चलिरहेको छ।

सबै स्थानीय तहमा ब्यानर राखेर हस्ताक्षर संकलन गर्छौ, त्यो लगेर प्रधानमन्त्रीलाई बुझाउँछौं, प्रवक्ता रिजालले भन्नुभयो, जनता सहमत भएपछि बल्ल आन्दोलन हुन्छ।’अहिले गठन गरेको समन्वय समितिले बाँके र बर्दियाका स्थानीय तह, पेशागत संघ संगठनका प्रतिनिधिसँग छलफल गरिरहेको छ। केही दिनमा बर्दियामा गएर छलफल गर्ने तयारी भएको छ।