पुल नबन्दा समस्या भएको सांसदहरुको गुनासो

0
Shares

काठमाडौं, (नेस)। 

मुलुकका विभिन्न भागमा पुल नबन्दा समस्यैसमस्या भोग्नुपरेको सांसदहरुले गुनासो गरेका छन्। संघीय संसद्को विकास तथा प्रविधि समितिमा रणनीतिक सडकका पुललगायत अन्य पुलको सम्बन्धमा छलफल गर्न डाकिएको बैठकमा बोल्दै सोमबार सांसदहरुले यस्तो गुनासो गरेका हुन्।

बझाङकी सांसद तथा समिति सदस्य आशाकुमारी विकले सुदूरपश्चिम प्रदेशका सडकमा पुल नबन्दा सदरमुकाममा भएको अस्पतालसम्म समेत बिरामी पुर्याउन नसकेपछि बिरामीले मृत्युवरण गर्नुपरेको गुनासो गर्नुभयो।

‘सुदूरपश्चिममा सडक छ तर पुल छैन। पुल नहुँदा वारपार गर्न गर्न समेत सकिरहेको छैन। जसले गर्दा बिरामीले पनि अस्पतालसम्म पुग्न नपाई पुलकै कारण मृत्युवरण गर्नुपर्ने बाध्यता छ’ –सांसद विकले भन्नुभयो।

‘सिंहदरबारलाई सुदूरपश्चिमको यो कहरले मन नदुख्दो रहेछ’ –उहाँले भन्नुभयो। भूगोल नटेके पनि गुगलमा खोजेर भए पनि सुदूरपश्चिममा पुलको योजना पार्नुपर्ने उहाँले जोड दिनुभयो। हुम्लाकी सांसद रंगमति शाहीले सुदूरपश्चिममा पुलको विस्तृत परियोजना प्रतिवेदन बन्ने तर वर्षाैंसम्म पनि पुल नबन्ने कारणले गर्दा सरकारले कस्तो नीति लिएको भन्दै प्रश्न गर्नुभयो।

अर्का सांसद टेकबहादुर बस्नेतले कुनै ठाउँमा पुलभन्दा सडक पहिले र कुनै ठाउँमा सडकभन्दा पुल पहिले बन्ने प्रचलनले नै मुलुकभरि समस्या ल्याएकाले यसमा सच्चिनुपर्ने धारणा राख्नुभयो। ‘सडक अघि कि पुल अघि भन्ने भन्दा पनि यी दुवै सँगसँगै बन्नुपर्ने अर्का सांसद गौरीशंकर चौधरीले आफ्नो विचार राख्नुभयो। ‘सडक सम्पन्न भइसक्दा समेत पुलको डिजाइन बन्दैन।

त्यस्तै पुल बनिसक्दा पनि सडक बन्दैन यो चलन हट्नुपर्छ। यो सँगसँगै बन्नुपर्छ’ –उहाँले बताउनुभयो। सांसद गणेश पहाडीले सडक र पुल निर्माण योजनामा समस्या ज्युँका त्युँ रहेको भन्दै यसमा सरकार चनाखो हुनुपर्ने विचार व्यक्त गर्नुभयो। ‘कति स्थानमा आवश्यकताभन्दा पनि पहुँचको आधारमा पुल निर्माण योजना पार्ने दबदबा देखियो। यस्तो अवस्था रहेसम्म मुलुकले यस्तै समस्या भोगिरहनुपर्नेछ’ –उहाँले बताउनुभयो।

त्यस्तै उहाँले रणनीतिक सडकअन्तर्गत पर्ने पुराना पुललाई विस्थापन गर्ने योजना ल्याउनुपर्ने धारणा राख्नुभयो। ‘पुराना पुल कहिले भत्केला र बनाउँला भनेर पर्खिरहेको होला। यसरी हुन्न, ती पुलले दुर्घटना निम्त्याउँछ। त्यसलाई विस्थापन गर्दै नयाँ पुल बनाउनुपर्छ’ –उहाँले बताउनुभयो।