पदावधि नसकिँदै राजीनामा दिने क्रम बढ्यो

कृषि सचिव डा. युवकध्वज जिसीको राजीनामा

0
Shares

सुनील महर्जन, काठमाडौं।

निजामती सेवाको उपल्लो पद हो राजपत्रांकित विशिष्ट श्रेणी अर्थात् सचिव। तर पछिल्लो समयमा सो पदमा पुगेका निजामती कर्मचारीले पदावधि नसकिँदै राजीनामा दिने क्रमलाई निरन्तरता पाइरहेको छ।

गरिरहेको कामभन्दा राम्रो विकल्प पाएपछि जागिर छाड्नु मानवीय स्वभाव होला। तैपनि यसले निजामती सेवाको उपल्लो पद सचिवकै गरिमा गुमाएको छ।’ –प्रशासनविद् काशीराज दाहालले भन्नुभयो।

यही क्रमको पछिल्लो पंक्तिमा कृषि सचिव डा. युवकध्वज जिसी उभिनुभएको छ। दुई वर्ष पदावधि बाँकी रहँदै सचिव जिसीले सोमबार राजीनामा दिनुभयो। खुला प्रतिस्पर्धाबाट सहसचिव बनेर २०७३ माघ ६ गतेको मन्त्रिपरिषद् निर्णयबाट सचिवमा बढुवा भएका जिसीले राजीनामा बुझाइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठनमा जागिर खान सचिव जिसीले राजीनामा दिनुभएको बुझिएको छ। मन्त्रिपरिषद्मा पेस गरिएको उहाँको राजीनामा स्वीकृत भने भएको छैन। मन्त्रालय वा सरकारी निकायको प्रशासनको प्रमुखका रूपमा नीति निर्माण गर्ने सो पदको मुख्य कार्यविवरण हो। 

यस्तो पदमा पुगेपछि पनि सुविधाको आकर्षणले राजीनामा दिने प्रवृत्तिले पदको गरिमालाई घटाउँदै लगेको प्रशासकहरू बताउँछन्। ‘गरिरहेको कामभन्दा राम्रो विकल्प पाएपछि जागिर छाड्नु मानवीय स्वभाव होला। तैपनि यसले निजामती सेवाको उपल्लो पद सचिवकै गरिमा गुमाएको छ।’ –प्रशासनविद् काशीराज दाहालले भन्नुभयो।

यसअघि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले राजीनामा दिनुभएको थियो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कन्ट्री अफिस भारतका लागि पी–५ लेभलमा जागिर सुनिश्चित भएपछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले राजीनामा दिनुभएको थियो।

उहाँको राजीनामा १७ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले अस्वीकृत गर्ने निर्णय गरे पनि उहाँले सोही दिनबाट डब्ल्यूएचओमा जागिर शुरू गर्नुभएको थियो। पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले उहाँको राजीनामा स्वीकृत गरेको थियो।

आकर्षक जागिर पाएपछि नेपाल सरकारका उपसचिव, सहसचिव, सचिव मात्रै हैन मुख्य सचिवसमेतले विदेशी संस्थामा आकर्षक सेवासुविधाको तलब पाएपछि जागिर छोड्ने गरेका छन्।

यसअघि तत्कालीन मुख्य सचिव डा. सोमलाल सुवेदीले एसियाली विकास बैंकमा जागिर पाएपछि मुख्य सचिवजस्तो पदबाट पनि राजीनामा दिनुभएको थियो। सुवेदीले मुख्य सचिवको कार्यकालको वर्ष दिन बाँकी रहँदै राजीनामा दिनुभएको थियो।

अर्कोतर्फ अवकाश हुनुभन्दा एक दुई दिनअगाडि सचिव पदबाट राजीनामा दिने गरेको बताउँदै प्रशासनविद् दाहालले भन्नुभयो– ‘यस्तो कार्य कानुनी व्यवस्थाकै त्रुटिको उपज हो। यसलाई कानुन संशोधन गरेर सच्याउनुपर्दछ।’

अर्कोतर्फ निजामती सेवामा राम्रो सेवासुविधाको अभावले पनि जागिर खान राजीनामा दिने गरेको पूर्वसचिव शशिशेखर श्रेष्ठले बताउनुभयो। सचिव भएका व्यक्तिहरूको अनुभव र ज्ञानलाई अवकाशपछि पनि राष्ट्र सेवामा लिन नसकेकाले पनि यस्तो अवस्था आएको पनि उहाँको तर्क रहेको छ।