भारतमा नेपाली ज्योतिषीलाई अन्तर्राष्ट्रिय अवार्ड

0
Shares

सूर्यप्रसाद अर्याल, जम्सेदपु, भारत

नेपालमा ज्योतिषीय क्षेत्रको हकहित तथा सुव्यवस्थाका लागि डा. लोकराज पौडेलको पहलकदमीमा २०५२ सालमा प्रज्ञा भवन कमलादीमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो।

२०५५ सालमा भएको अन्तर्राष्ट्रिय सम्मेलनले डा. मंगलराज जोशीको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरेको थियो। २०६१ सालमा जोशीको निधनपश्चात् तदर्थ समितिको नेतृत्व डा. पौडेलको हातमा आयो।

त्यसपछि नेपालमै अन्तर्राष्ट्रिय समितिको कार्यालय बनाउन नेपाल, थाइल्यान्ड, मलेसिया, मोरिसस, भारत, श्रीलंका, बंगलादेश, यूएईलगायतका देशमा सम्मेलन भयो।

यी सबै देशको समर्थनमा नेपालमै केन्द्रीय कार्यालय रहने गरी नेपालको संविधानअनुसार २०७४ साल वैशाखमा विधिवत्रूपमा विश्व ज्योतिष महासंघ दर्ता भयो। हाल यस संस्थामा १९ देशको प्रतिनिधित्व रहेको छ।

यही संस्थाले भारतको जमशेदपुरमा २९औं एसियन एस्टोलोजर कन्फ्रेन्स गरेको छ। जनवरी ३१ तारिखदेखि फेबु्रअरी २ तारिखसम्म उक्त कन्फ्रेन्स चलेको थियो। विश्व ज्योतिष महासंघ आयोजक रहेको कन्फ्रेन्सको संयोजन सेन्टर अफ एस्टोलोजिकल स्टडी एन्ड रिसर्च फर पब्लिक वेलफेयर जमशेदपुरले गरेको हो।

यस कार्यक्रममा नेपाल, भारत, बंगलादेशलगायतका देशबाट १ सय २० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो भने नेपालको तर्फबाट विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेलको नेतृत्वमा १६ सदस्यीय प्रतिनिधिले भाग लिएका थिए।

आफ्नो अनुसन्धानमूलक प्रस्तुति मात्र दिन पाउने कन्फ्रेन्सको प्रमुख अतिथि नासाका वैज्ञानिक डा. ओमप्रकाश पाण्डे तथा विशेष अतिथिमा राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्राडा. माधव भट्टराई हुनुहुन्थ्यो। पहिलो दिन प्रतिनिधिहरुको परिचयात्मक सत्रपश्चात् डा. पाण्डेले वैदिक विज्ञानको अनुसन्धान तथा खोजको अध्ययन गर्दै पश्चिमेली विज्ञान यहाँसम्म आइपुगेको पुष्टि गर्नुभयो।

अस्वस्थताका बाबजुद पनि कन्फ्रेन्समा पुग्नभएका पाण्डेको तार्किक तथा ओजपूर्ण अभिव्यक्तिमा ज्योतिषीहरू तीन घण्टा हराएका थिए। नेपालमा भइरहेको ११ महिना बनाएर पर्व सुधार गर्न एक पक्ष लागेको चर्चा गर्दै डा. पौडेलले विश्वका ज्योतिषलाई एकजुट भई सनातन धर्म संस्कृति जोगाउन आह्वान गर्नुभयो।

त्यस्तै प्राडा. भट्टराईले नेपालको पर्यटन वर्ष २०२० मा विभिन्न मठमन्दिर तथा पर्यटकीय नगरीका चर्चा गर्दै सम्पूर्ण ज्योतिषलाई नेपाल भ्रमणको निम्ता दिँदा सभाहल तालीको गडगडाहटले लामो समय गुञ्जायमान रह्यो।

दोस्रो दिन विभिन्न सत्रमा फलित ज्योतिष, अंक ज्योतिष, हस्तरेखा, वास्तु विज्ञान तथा ज्योतिषीय उपचार पद्धतिमा प्रतिनिधिहरुले आ–आफ्नो अनुभव तथा अनुसन्धनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। प्रस्तुतिको मूल्यांकन गर्दै तेस्रो दिन अर्थात् समापन सत्रमा विधाअनुसार पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो। यस कन्फ्रेन्सले ज्योतिषीय क्षेत्रमा रहेका विकृति, विसंगतिको जरैदेखि अन्त्य गर्ने घोषणा गर्दै कार्यक्रम समापन गर्यो।

यसैबीच नेपाल समाचारपत्रका भाषा सम्पादक सूर्यप्रसाद अर्याललाई भारतमा सम्मान गरिएको छ। ज्योतिषीय क्षेत्रलाई उचाइमा पुर्याउन मद्दत गरेको भन्दै विश्व ज्योतिष परिषद् तथा सेन्टर अफ एस्टोलोजिकल स्टडी एन्ड रिसर्च फर पब्लिक वेलफेयर जमशेदपुरले अर्याललाई सम्मान गरेको हो। अर्याल विगत ९ वर्षदेखि यस क्षेत्रमा क्रियाशील पत्रकार हुनुहुन्छ।