प्रतिकारमा चितुवा मारियो, आक्रमणमा ८ घाईते


मोतीराम तिमल्सिना, काभ्रे ।

एक सातादेखि लगातार पशु र मान्छेलाई आक्रमण गरिरहेको चितुवालाई स्थानीयले छेकटो पारी सोमबार पाँचखाल नगरपालिका ६ गहते फाँटमा प्रतिकार हुँदा चितुवाको निधन भएको छ । चितुवाको आक्रमणबाट ८ जना घाईते भएका छन् ।

चितुवाले आईतबार र सोमबार पाँचखालमा मात्रै ८ जनालाई घाईते बनाएको छ भने भुम्लुमा तीन दिनमा १० वटा बाख्रा खाएको प्रहरीले जानकारी दिएको छ । ‘पाँचखालमा स्थानीयलाई चितुवाले घाईते बनाएको खवर सँगै नियन्त्रणमा लिन वन कार्यालय र प्रहरीको टोली घटनास्थल पुग्दा चितुवा मरिसकेको रहेछ’–जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले भन्नुभयो–‘स्थानीयहरुले तीन दिनदेखी चितुवाको आक्रमणका बारेमा जानकारी गराउँदै आउनु भएकाले गस्ति गरिरहेको भए पनि फेला परेको थिएन ।’

पाँचखाल नगरपालिका वडा नम्वर ६ का अध्यक्ष रामशरण दुलालले तीन देखि चितुवाले स्थानीय क्षेत्रमा दुख दिईरहेको बताउनु भयो । ‘धुलिखेल नगरपालिका ११ कल्क्षे र पाँचखाल नगरपालिका वडा नम्वर ६ एकताबस्तिका स्थानीयहरुको संयुक्त प्रयासमा चितुवालाई नियन्त्रणमा लिन खोज्दा आक्रमण गर्न आए पछि प्रतिकारमा मारिएको छ’–वडा अध्यक्ष रामशरण दुलालले भन्नुभयो–‘पहिलो दिन स्थानीय सरस्वती कायश्थलाई मुख धुँदै गर्दा आक्रमण ग¥यो, दोश्रो दिन विद्यालय जाँदै गरेका विद्यार्थीलाई आक्रमण ग¥यो भने तेश्रो दिन स्थानीयहरु ६ जनालाई आक्रमण गरेपछि सर्वसाधारणले प्रहरी र बन कार्यालयका कर्मचारीलाई खवर गरेका थिए ।’

घाईते हुनेहरुमा पाँचखाल नगरपालिका वडा नम्वर ६ का अर्जुन श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, बैकुष्ठ कायश्थ, लक्ष्मी श्रेष्ठ, भिमकुमारी सत्याल, सरस्वती कायश्थ, कुमार विक र धुलिखेल नगरपालिका ११ का नारायणप्रसाद बडाल रहनु भएको छ । घाईते मध्ये केहिको धुलिखेल अस्पताल र केहिको काठमाडौ रिफर गरिएको छ । तीन जना गम्भिर रहेको धुलिखेल अस्पतालले जानकारी दिएको छ । गत विहिबार देखि लगातार चितुवाले बाख्रा खान थालेपछि स्थानीयहरु त्रसित हुन थालेका छन् । साँझ विहान गोठमा जानै नसक्ने गरी चितुवाले दैनीक भुम्लु गाउँपालिकाको भुम्लुटारमा बाख्रा खान थालेको थियो ।

बाख्रा खाए सँगै स्थानीयहरु त्रसित भएको स्थानीय हरिहर उप्रेतीले बताउनु भयो । उप्रेतीको गोठमा रहेका ८ वटा बाख्रा एकै दिन खाएको छ भने लक्ष्मी रिजाको गोठमा रहेको बाख्रा माघ १४ गत राति खाएको उप्रेतीले बताए । त्यस्तै विहिबार राति राम रिजालको गोठमा रहेको बाख्रा खाएको उप्रेतीले बताउनु भयो । चितुवाले बाख्रा खाए पछि स्थानीयहरु रातभर जाग्राम बस्न थालेका छन् । बाख्रा खाने चितुवा मानव बस्तिमा पसेसँगै सुरक्षाका लागि स्थानीयहरुले स्थानीय सरकार, प्रहरीलाई खवर गरेका छन् ।

१० वर्षमा ५९ जनालाई राहत

वन्यजन्तुले पुर्याएको मानविय तथा अन्य क्षतिको राहत ५९ जनाले प्राप्त गरेका छन् । राहत सम्वन्धी कानुन बने सँगै क्षतिको अवस्थाका आधारमा राहत उपलब्ध गराईएको हो । १० वर्षको अवधीमा १३ जनाको निधन भएको छ । जस बापत १० लाख ५० हजार रकम राहत स्वरुप उपलब्ध गराईएको छ । चालु वर्ष देखि राहत रकम बृद्धी गरी प्रति ब्यक्ति १० लाख बनाईएको छ ।

मानविय घाईते भएका ७ जनाले औषधी उपचारको विलका आधारमा २ लाख ८ हजार ८४ रुपैया प्राप्त गरेका छन् । पशुधन क्षति भएका मध्ये खसिबोका ५९, कुखुरा १ सय ४०, बंगुर ५ र बाक्षी १ गरी ५१ लाख ६५ हजार ४ रुपैया राहत भुक्तानी भएको छ । खाद्यान्न बाली क्षति भएका ६ जनाले १ लाख ८० हजार भुक्तानी पाएका छन् । २२ वटा पशुधन क्षति भए पनि तस्विर नभएका कारण २ लाख ४ हजार ४ सय राहत रकम भुक्तानी हुन सकेको छैन । पशुधन क्षती २ र वाली ४ जनाको क्षति भएकोमा ४८ हजार ५ सय पनि राहत उपलब्ध हुन सकेको छैन ।