मेमोरी कार्डको विषयमा विवाद हुँदा बुहारीको हत्या, सासु ससुरासहित परिवारका ४ सदस्य पक्राउ

0
Shares

न्युज अफ नेपाल, जनकपुर ।

मेमोरी कार्डको विषयमा नन्द भाउजुबीच विवाद भएपछि सासु ससुरासहित ४ जना मिलेर आफ्नै बुहारीको हत्या गरेका छन् ।

शनिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर २ की २२ बर्षिया चिन्तामणी पासवानको आफ्नै ३० वर्षीय श्रीमान अनिल कुमार पासवान, ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान, ४५ वर्षीया सासु कुमला पासवान र २० वर्षीया नन्द पुनिता पासवानले हत्या गरेको प्रहरीले जनाएको छ ।

माघ १८ गते दिउँसो चिन्तामणी र नन्द पुनिताबीच मेमोरीकार्डको विषयमा झगडा भएको थियो । झगडा बढ्दै गएपछि श्रीमान्सहित परिवारका ४ सदस्य मिलेर चिन्तामणिको घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि पक्राउ पर्ने डर भएपछि उनीहरुले चिन्तामणीको शव झुण्डिएको अवस्थामा फेला परेको भन्दै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा छोडेर फरार भएका थिए ।

हत्यापछि फरार भएका कुमला पासवान र पुनिता पासवानलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित पेठिया बजारबाट आइतबार साँझ ५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, राधाकृष्ण पासवान र अनिल कुमार पासवानलाई सोमबार बिहान ६ बजे धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित बलहा टोलबाट पक्राउ गरिएको हो ।

उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको धनुषाका प्रहरीले जनाएको छ ।