विराटनगर भन्सारको राजस्व ६ महिनामा ६० प्रतिशतले कमी



सरोज यादव, विराटनगर ।

पूर्वी नाका मध्येको एक प्रमुख भन्सार नाका रहेको विराटनगरस्थित रानी भन्सार नाकाको रजस्व संकलनमा कमी आएको छ ।

चालू आर्थिक वर्षको पुसमसान्त सम्ममा यस भन्सारको राजस्वमा ६० प्रतिशत कमी आएको छ ।भारतबाट व्यापारिक मालवस्तुको आयात र नेपालबाट निर्यात घटेपछि विराटनगर भन्सारको राजस्व संकलनमा कमी आएको हो । भन्सारले पुस मसान्तसम्ममा २५ अर्ब ६६ करोड ८९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा १५ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ मात्र संकलन गर्न सकेको छ । भन्सारका सूचना अधिकृत मनिराम पौडेलले बताउनुभयो । भारतको मिरगञ्ज पुल हुँदै आउने सामानको पैठारी पुलको मर्मतको कामले अवरोध भएपछि सुनसरी भन्सारबाट हुन थालेसँगै विराटनगर भन्सारको राजस्वमा कमी आएको हो । विराटनगर भन्सारबाट ७ किलोमिटर दक्षिणमा भारतको बथनाह नजीक रहेको मिरगञ्ज पुल भासिएकाले ४० टनभन्दा बढीका सवारीसाधन विराटनगर भन्सारतिर आउन सकेका छैनन ।

पौडेलका अनुसार यसकारण यसले चामल लगायत वस्तु सुनसरी भन्सारबाट आयात हुँदा यताको भन्सारको राजस्वमा असर परेको छ । भारतले २ अर्ब १० करोड रुपैयाँ लागतमा आईसीपी निर्माण गरि हस्तान्तरण गरेर संचालनमा आएपनि मिरगञ्जको पुल पूर्णरूपमा निर्माण नगर्दा ७ किलोमिटरको दूरी पार गर्न मालगाडीलाई ३ दिन लाग्ने गरेको यहाँका उद्योगी ब्यापारीहरुले बताएका छन । मिरगञ्ज पुल नबन्दासम्म निकासी र पैठारीबाट हुने राजस्वमा कमी आउने भन्सार कार्यालयले भनाई छ। यस्तै भारत निकासी हुँदै आएको पाम आयल, फलाम, तामाका तार लगायतको निर्यातमा ह्रास र खुद्रा मालवस्तुको पैठारीमा आएको कमीले लक्ष्यअनुसार राजस्व उठाउन नसकिएको सूचना अधिकृत पौडेलले बताउनुभयो ।

राजस्व संकलन घट्नुको अर्को कारण भारतबाट आयात हुने जुस तथा खाद्यपदार्थको प्रतिबन्ध पनि रहेको उहाँले बताउनुभयो । ६ महीनाभन्दा कमको ‘एक्सपायर डेट’ भएको खाद्यपदार्थ र सिन्थेटिक फ्लेभर भएको जुसमा रोक लगाएपछि पैठारी घटेकाले पनि राजस्वमा कमी आएको छ । यस्तै भारतबाट हुँदै आएको गार्मेन्टको आयात शून्य झर्नु पनि राजस्व प्रभावित हुनुको अर्को कारण रहेको पौडेलको भनाई छ । विराटनगर भन्सारबाट पुस मसान्तसम्ममा भन्सार महशुलतर्फ १० अर्ब ९६ करोड १७ लाख रुपैयाँ असुलीको लक्ष्य रहेकोमा ६ अर्ब २५ करोड १५ लाख रुपैयाँ मात्र संकलन भएको छ ।

यस्तै मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ १३ अर्ब ४० करोड ९७ लाख रुपैयाँको लक्ष्यमा ८ अर्ब १४ करोड ७७ लाख र अन्तःशुल्कतर्फ १ अर्ब २९ करोड ७४ लाखको लक्ष्यमा १ अर्ब ३ करोड ६६ लाख मात्र संकलन भएको छ । गत आवको पहिलो ६ महीनाको अवधिमा कार्यालयले १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा १९ अर्ब ५७ करोड ३० लाख रुपैयाँ असुल गरेको थियो । चालू आवको ६ महीनामा सबैभन्दा बढी राजस्व पेट्रोलको आयातबाट संकलन भएको छ ।

यसबाट १ अर्ब १८ करोड ५८ लाख रुपैयाँ राजस्व उठेको छ छ । राजस्व संकलन बढी हुने दोस्रो वस्तुको रूपमा रहेको मोटरसाइकलबाट १ अर्ब १० करोड ९८ लाख रुपैयाँ संकलन भएको छ भने तेस्रोमा फलामको कच्चापदार्थबाट ७८ करोड ३७ लाख रुपैयाँ राजस्व उठेको छ ।

प्रतिक्रिया दिनुहोस्