जंगली हात्तीकाे त्रासै त्रासमा बस्न बाध्य ठोरीवासी

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको ठोरीका स्थानीयहरु जंगली हात्तीका कारण सँधै त्रासमा बस्न बाध्य भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट गाउँपसेको जंगली हात्तीले पर्साको ठोरीमा आतङ्क मच्चाएको हो । जंगली हात्तीले हालैबाट ठोरी गाउँपालिका–१ र २ मा गरि ५ वटा घर भत्काएर क्षति र्पुयाएको निर्मल ठोरी उपभोकता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताउनुभयो ।

बस्नेतका अनुसार जंगली हात्तीले ठोरी गाउँपालिका १ चौतारा बस्ने लालबहादुर तामाङको घर भत्काइदिएको छ । यस्तै ठोरी १ कै अरुण तामाङको घर, समीर गोलेको भान्साघर, प्रतापसिंह मोक्तानको घर र ठोरी गाउँपालिका २ का हरिबहादुर विकको भान्साघर पनि भत्काएर क्षति गरेको उहाँले बताउनुभयो ।

हात्तीले स्थानीयको घरमा भण्डारण गरि राखेको धान तथा मकै खाइदिनुका साथै छरेर क्षति र्पुयाएको उहाँको भनाइ छ । रात परेपछि चितवन राष्ट्रिय निकुञ्जबाट जंगली हात्ती गाउँपसेर उपद्रो मच्चाउन थालेपछि जनजीवन आतङ्कित बनेको बस्नेतले बताउनुभयो । गाउँमा पसेर हात्तीले घर भत्काउँदै वितण्डा मच्चाउन थालेपछि सर्वसाधरण समसाँझै घरबाट बाहिर निस्कने वातावरण नभएको उहाँले बताउनुभयो ।

ठोरीमा जंगली हात्तीले बिगत लामो सायदेखि आतंक मच्चाउने गरेको भएपनि स्थानीय सरकारले चासो नदिएको स्थानीयहरुको आरोप छ तर ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल.श्रेष्ठे भने हात्ती नियन्त्रणका लागि गाउँपालिकाले निश्चित स्थानमा तारबार लगाएको बताउन’भयो ।